काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछाने मंगलबार इंग्ल्यान्ड प्रस्थान गर्ने भएका छन्। उनी विश्व ११ र वेस्ट इन्डिजबीच हुन लागेको मैत्रीपूर्ण टी–२० खेल खेल्न त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। नेपाली टिमका म्यानेजर रमन सिवाकोटीका अनुसार सन्दीप राति लन्डन प्रस्थान गर्न लागेका हुन्।
सन्दीपलाई गत जेठ २ गते अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्व ११ टिममा सामवेश गरेको थियो। आगामी जेठ १७ गते इंग्ल्यान्डको लन्ड्समा विश्व ११ र वेस्ट इन्डिजबीच मैत्रीपूर्ण टी–२० खेल हुँदैछ।
१७ वर्षीय सन्दीप विश्व ११ का कान्छा खेलाडी हुनेछन्। विश्व ११ टिममा इयान मोर्गन (कप्तान), साहिद अफ्रिदी, तमिम एकबाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लिघन, सोएब मलिक, हार्दिक पाण्ड्या, थिसारा परेरा, लुक रोची र सन्दीप लामिछाने हुनेछन्। वेस्ट इन्डिज टिममा स्यामुयल बद्री, कार्लोस बार्थवेट, क्रिस गेल, इभिन लेविस, मार्लोन स्यामुयल्स र आन्द्रे रसेल जस्ता स्टार खेलाडी हुनेछन्।
वेस्ट इन्डिजमा गत वर्ष आएको आँधीका कारण भत्किएको रंगशाला निर्माणमा सहयोग जुटाउन खेल आयोजना गर्न लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।