काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन घोषणापछि मन्त्रिपरिषद्मा हेरफेर गरेर प्रधानमन्त्रीले प्रक्रिया र प्रणालीलाई हेपेको टिप्पणी गरेका छन्।
शनिबार बिहान ट्विटरमा सम्पन्न एक अन्तर्क्रियामा ‘निर्वाचन मिति घोषणा भइसकेपछि मन्त्रिपरिषद्मा हेरफेर गर्न पाइन्छ?’ भन्ने जिज्ञासामा उनले सो प्रतिक्रिया दिएका हुन्।
उनले संविधानलाई संविधानको मर्म अनुसार जसले कार्यान्वयन गर्नुपर्ने हो, उसैले नगरेपछि जनतामा वितृष्णा आएको बताए। ‘यो सरासर निर्वाचनको प्रक्रिया, पद्धति र प्रणालीलाई हेपेको कुरा हो। निर्वाचनको मिति घोषणा भएपछि पनि मन्त्री बनाउने, मौन अवधिमा प्रधानमन्त्री स्वयंले माग्ने जस्ता कुराहरुले नै हाम्रो प्रणालीलाई बदनाम गराउने हो। यस्तो खालको प्रवृत्तिलाई रोक्न सक्ने संवैधानिक निकायमा क्षमता भएन’, उनले भने।
प्रधानमन्त्रीको सिफारिसमा जेठ ७ गते राति राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधि सभा विघटन गर्नै आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तोकिएको छ। तर, शुक्रबार मात्रै मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरिएको छ। नागरिकले एक पटक मत दिएपछि पाँच वर्ष कुर्नुपर्ने परम्पराबारे पुनर्विचार गर्नुपर्ने जिज्ञासामा पोखरेलले ‘रि-कल’ गर्ने ‘मेकानिजम’मा जानुपर्ने प्रस्ताव राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।