काठमाडाैं- विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपा ४७औं संस्करण आयोजनाका लागि ब्राजिल उपयुक्त नरहेको अर्जेन्टिना र चिलीका प्रशिक्षकले दाबी गरेका छन्।
प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित विश्वकप छनोट खेलमा उनीहरुले ब्राजिलमा काेराेना महामारी उच्च बिन्दुमा रहेकाे भन्दै यस्तो धारणा राखे।
दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले यसअघि अर्जेन्टिना र कोलोम्बियामा संयुक्त रुपमा कोपा अमेरिका आयोजना गर्ने जिम्मेवारी दिएकाे थियाे।
तर, राजनीतिक अस्थिरताका कारण कन्मेबोलले सहआयोजक कोलोम्बियालाई हटाएर अर्जेन्टिनालाई पूर्ण आयोजनाको जिम्मेवारी दिइएको थियो। कोलोम्बियामा राष्ट्रपति इभान डुकविरूद्ध त्यहाँको नागरिकले बिरोध प्रदर्शन गर्नुका साथै सडकमा हिंसात्मक घटना भएको थियो।
यद्यपि, कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएपछि अर्जेन्टिनाबाट पनि आयोजनाको जिम्मेवारी कन्मेबलले खाेसेकाे थियाे।
प्रतियोगिता सुरु हुन दुई साता पनि बाँकी नरहेको अवस्थामा गत आइतबार ब्राजिललाई नयाँ आयोजक तोकेकाे थियाे। १३ जुनबाट कोपा अमेरिका सुरु हुँदैछ। तर, अहिलेसम्म पनि खेल स्थल तय भइसकेको छैन।
‘हामी जानुपर्छ भने जान्छौं,’ अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले भने, ‘तर अझै पनि आवासलाई लिएर धेरै अनिश्चितताहरु छन्। इमानदार भएर भन्नुपर्दा हामी चिन्तित छौं, ब्राजिल उपयुक्त ठाउँ होइन।’
दक्षिण अमेरिकी देशहरु कोरोनाबाट सर्वाधिक मारमा छन्। ब्राजिलमा ४ लाख ६५ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन्, जो अमेरिकाभन्दा मात्रै कम हो। त्यस्तै, संक्रमित संख्याका हिसाबले अमेरिका र भारतपछि तेस्रो स्थानमा छ ब्राजिल।
ब्राजिलमा १ करोड ६५ लाख जनसंख्या संक्रमित भइसकेको छ। त्यही कारण ब्राजिलमा कोपा अमेरिका आयोजना गर्ने निर्णयको धेरैले आलोचना गरेका छन्।
‘स्वास्थको कारण देखाएर अर्जेन्टीनालाई अधिकारबाट बन्चित गरियो र कोलम्बियालाई पनि गरियो। र, यो अवस्थालाई स्वीकार्न साँच्चै गाह्रो हुनेछ,’ अर्जेन्टिनी प्रशिक्षक स्कालोनीले भने।
यता, ब्राजिलभन्दा झन्डै पाँच गुणा कम जनसंख्या रहेको अर्जेन्टिनामा पनि ३८ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ। हालसम्म ७८ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन्।
कोरोना संक्रमणका कारण अर्जेन्टिनका गोलकिपर फ्रान्को अर्मारी र फुलब्याक गोन्जालो मोन्टियलले प्रतियोगिता गुमाउने तय भइसकेको छ।
चिलीका प्रशिक्षक मार्टिन लासर्टे पनि ब्राजिल सुरक्षित नभएकाे प्रतिकृया दिएका छन्। ‘मेरा लागि यो ठूलो जोखिम लाग्छ। सबैभन्दा पहिला स्वास्थ्य आउँछ।’
काेराेना संक्रमणकै कारण अस्पतालमा उपचाररत चिलीका भेट्रान मिडफिल्डर अर्टुरो भिडालले पनि प्रतियोगिता गुमाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।