 फाइल तस्वीर।
                                        
                                            फाइल तस्वीर।
                                        
                                    
                                                             
                            
                            काठमाडौं- नेकपा (एमाले)का नेता योगेश भट्टराईले आफूहरुले एमालेलाई एकतावद्ध राख्न पहल गरिरहेको तर, एकता भनेको आत्मसमर्पण नभएको बताएका छन्। शुक्रबार माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा बोल्दै योगेशले अहिले पनि संघर्ष नै प्रधान रहेको बताए।
‘अहिले पनि संघर्ष नै प्रधान हो, हामीले तलसम्म संगठन निर्माण गर्दै जाने हो र यो विषयलाई अझै तल्लो तहमा लैजाने हो’, भट्टराईको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘केपी ओलीसँगको एकता प्रयास व्यक्तिगत होइन, संघर्ष हो। केपी ओलीसँग हाम्रो लडाई संघर्ष, रुपान्तरण र एकता नै हो।’
उनले एकता भनेको आत्मसमर्पण नभई रुपान्तरका लागि मात्र भएको उल्लेख गर्दै भने, ‘हामीले एकताको प्रक्रियाबाट गएर पार्टी कब्जा गर्ने हो।’ 
भट्टराईलगायत एमालेका चार जना नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग वार्तामा छन्। भट्टराईले पार्टीको एकताको लागि गरिएका इमान्दार प्रयत्नबारे गलत टिप्पणी भइरहेको समेत उल्लेख गरे।
‘यो एकता प्रक्रिया भनेको केपी ओलीको स्वेच्छाचारिता र निरंकुशतालाई स्वीकार गर्नका लागि होइन’, उनले भने, ‘त्यसविरुद्ध संघर्ष गर्नका लागि हो, त्यही नै एकताको आधार हो।’ 
उनले एकताको प्रयत्न अन्तिमसम्म गर्नुपर्ने र त्यसबाट पार नलागे संघर्षमा अघि बढ्नेमा कुनै द्विविधा नरहेको प्रष्ट पारे।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।