 फाइल तस्वीर।
                                        
                                            फाइल तस्वीर।
                                        
                                    
                                                             
                            
                            काठमाडौं- नेकपा (एमाले)का स्थायी कमिटी सदस्य गोकर्ण विष्टले अध्यक्ष केपी शर्मा ओली पक्षसँग औपचारिक तथा अनौपचारिक संवादमा संलग्न हुँदा आफ्नै पक्षभित्र समस्या पैदा गरिएको भन्दै गुनासो पोखेका छन्। माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा शुक्रबार बोल्दै विष्टले आफू आफ्नो पक्षभन्दा बाहिर नगएको समेत प्रष्ट पारे। 
बिहीबारदेखि सुरु भएको बैठकमा शुक्रबार दिउँसो बोल्दै गोकर्णले भने, ‘एकातिर ओलीका मानिसरु अविश्वास पैदा गर्ने खेल्नेमा उद्यत छन्, अर्कोतिर हामीभित्रै पनि समस्या पैदा गर्ने कोशिश किन भइरहेको छ?’ 
उनले केपी ओली प्रवृतिबारे आफू भलिभाँती जानकार रहेको उल्लेख गर्दै त्यसमा कुनै कन्फ्युजन नभएको बताए। ‘यो पाँच वर्षयता हर्लक्क हुर्केको प्रवृत्ति होइन। संयोग नै भन्नुपर्छ, म आजसम्म केपी ओली प्रवृत्तिबाट झुक्किएको छैन’, विष्टको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘२० महिना ओलीको क्याबिनेटमा मन्त्री हुँदा पनि म लगातार जुधिरहें। क्याबिनेटमा प्रमसँग जुध्ने कुरा कति गाह्रो हुन्छ, पूर्वप्रमहरुलाई थाहा होला। आफ्ना मान्यतामा उभिँदाउभिँदै म बाहिरिएको छु। त्यसकारण हामी को कति क्रान्तिकारी भन्ने समयले बताउला।’
उनले आफ्नो पक्षमा सल्लाह भएरै वार्ता भइरहेको र सहमतिमै वार्ता भइरहेको उल्लेख गर्दै वार्तामा सहभागी नेताहरुको मनोबल गिराउने काम नगर्न आग्रह गरे। आफूहरु अन्तिमसम्म एकताको प्रयासमा लाग्नुपर्ने र एकताबाटै ओली प्रवृत्तिलाई परास्त गरेर सबल पार्टी निर्माणमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै उनले त्यसो नभए नयाँ पार्टी गठनमा अघि बढ्नुपर्ने बताए।
‘नयाँ पार्टी निर्माण गरौं, तर अर्को उस्तै पार्टी मात्र नबनाऔं। जनजीविका, जनता र राष्ट्रको पक्षमा हुने पार्टी बनाऔं', बैठकमा उनले भने, 'एकता मुद्दामा हो, विचारमा हो, विलीन हुने होइन। हामी ओलीको षडयन्त्र र स्वेच्छाचारिताबारे सचेत छौं।'
अहिले मुख्य प्राथमिकता संघर्ष नै भएको र यही संघर्षबाट ओली प्रवृत्तिलाई परास्त गर्न सकिने समेत उनले प्रष्ट पारे। ‘यति हो कि, केपी ओली प्रवृत्तिलाई एक्स्पोज गर्न पनि हामीले अन्तिमसम्म वार्ताको प्रयत्न गर्नुपर्छ, माधव र झलनाथले एमालेलाई एक राख्न अन्तिसम्म पहल गरे भनेर कार्यकर्तालाई भन्न दिनुपर्छ। हाम्रा शर्तहरुमा एकता गर्न सक्यौं भने पार्टी हामीले हाँक्ने सम्भावना छ’, उनले भने, ‘नभए त हामी सबैका लागि अर्को आधार बन्छ।’
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।