काठमाडाैं- इन्टर मिलानको प्रशिक्षकमा सिमोने इन्जाघी नियुक्त भएका छन्। एन्टेनियो कोन्टेले प्रशिक्षक पदबाट राजीनामा दिएपछि क्लबले उनको स्थानमा इन्जाघीलाई नियुक्त गरेको हो ।
इन्टरले इन्जाघीलाई दुई वर्षको लागि क्लबको मुख्य प्रशिक्षक बनाएको हो । उनी सन् २०२३ को अन्त्यसम्म सान सिरोमा रहनेछन् ।बिहीबार लाजियो छाडेसँगै इन्जाघी इन्टरको जिम्मेवारी लिन तयार भएका थिए।
पूर्व स्ट्राइकरसमेत रहेका इन्जाघी पछिल्ला पाँच वर्षदेखि लाजियाको प्रशिक्षक रहँदै आएका थिए ।
इन्जाघी सन् २०१६ मा लाजियो फर्किएका थिए। स्टेफानो पिओलीको स्थानमा लाजियो पुगेका इन्जाघीको प्रशिक्षणमा रोमको क्लबले कुल दुई सय ४२ खेल खेलेकाे छ। तीमध्ये लाजियाले एक सय २९ खेलमा जित हासिल गरेकाे छ भने ४३ खेलमा बराबरीमा रोकिएकाे छ।
उनको नेतृत्वमा लाजियोले तीन उपाधि उचालेकाे छ। लाजियोकै पुर्व खेलाडी रहेका उनको प्रशिक्षणमा लाजियोले २०१७ र २०१९ मा सुपर कोपा इटालिया र २०१८–१९ को सिजनमा कोपा इटालियाको उपाधि जितेको थियो।
उनकै प्रशिक्षणमा लाजियो १३ वर्षपछि अर्थात २००१ पछि च्याम्पियन्स लिगलाई छनोट हुदा पहिलोपटक च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलम पुग्न सफल भएको थियो।
यद्यपि, सीमित बजेट रहेका कारण भर्खरै सकिएको सिजन भने लाजियोका लागि सम्झनलायकको रहेन। लाजियो ३८ खेलबाट ६८ अंक बटुल्दै छैठौँ स्थानमा सिमित भयो।
अब ४५ वर्षीय इटालियन प्रशिक्षक इन्जाघी इन्टरको डगआउटमा हुनेछन्। इन्जाघीका लागि मुख्य जिम्मेवारी सिरी ए उपाधि रक्षा गर्ने हुनेछ।
त्यस्तै,आर्थिक अवस्था खराब भएकाले इन्टरले च्याम्पियन्स लिगमा बलियो प्रदर्शन गर्नुपर्ने चुनौति पनि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।