काठमाडौं– विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोटअन्तर्गत नेपाल आज चाइनिज ताइपेईसँग भिड्दै छ।
कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय फुटबल मैदानमा नेपाली समय अनुसार राति पौने १० बजे ताइपेईविरुद्ध नेपाल जितको लक्ष्यसहित मैदान उत्रँदै छ।
नेपालले घरेलु भूमिमा खेल्नुपर्ने खेल कुवेतमा खेल्न लागेको हो। कोरोना महामारीका कारण एएफसीले समूह ‘बी’ का खेल न्युट्रल भूमिका रूपमा कुवेतमा आयोजना गर्ने निर्णय गरेको थियो।
नेपालले कुवेतविरुद्ध घरेलु मैदानमा खेल्नुपर्ने खेल भने दशरथ रंगशाला निर्माण सम्पन्न नभएका कारण भुटानमा खेलेको थियो। विश्वकप छनोटको तेस्रो चरण पुग्ने सम्भावना समाप्त भइसकेका दुवै टोलीको लक्ष्य एसियन कपको तेस्रो चरणमा पुग्ने हुनेछ।
नेपालले बाँकी ३ खेलमध्ये जित हात पार्न सहज हुने टिम भनेको यही चाइनिज ताइपेई नै हो। फिफा वरियतामा आफूभन्दा ३० स्थान माथि रहेको चाइनिज ताइपेईविरुद्ध नेपालले हालसम्म २ वटा मात्र खेल खेलेको छ । जसमा १ खेल आफ्नो पक्षमा पार्दा १ खेल बराबरीमा सकिएको थियो ।
नेपाल फिफा वरीयताको १७१ औँ स्थान छ । यस्तै, चाइनिज ताइपेई नेपालभन्दा ३० स्थानमाथि १४१औँ स्थानमा छ ।
हालै इराकसँग खेलेको मैत्रीपूर्ण खेलमा ६–२ ले पराजित भए पनि नेपालले सुधारिएको प्रदर्शन गरेको थियो ।
नेपालले ताइपेईपछि जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियाविरुद्ध खेल्ने छ । यी टिमविरुद्ध जित निकाल्न कठिन हुने हुँदा नेपाल यो खेलमा स्पष्ट ३ अंक जोड्ने प्रयासमा हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।