काठमाडाैं- नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतको मौमसमा खेल्नु कठिन हुने बताए।
जबेर अल अहमेद स्टेडियममा ताइपेइविरुद्ध हुने खेलको पूर्वसन्ध्यामा प्रशिक्षकले अलमुताइरीले कुवेतमा निकै गर्मी रहेकाले खेल्न कठिन हुने बताएका हुन्।
‘कुवेतमा निकै गर्मी छ। यस्ताे मौसममा खेल्न हामीलाई सहज हुनेछैन र यो खेल दुवै टिमको लागि कठिन हुनेछ,’ कुवेती प्रशिक्षक अलमुताइरीले भने।
नेपालले यसअगाडि शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेलेरको थियाे। जसमा नेपाल ६–२ गोलले पराजित भएको थियो। यद्यपि, इराकविरुद्ध खेल हारेपनि त्यसबाट धेरै सकारात्मक कुरा लिन सकिने उनले बताए।
‘हामी चौथो स्थान सुरक्षित गर्न चाहन्छौं ताकी एएफसी एसियन कप क्वालिफायर्समा मौका बनिरहोस्। र, त्यसका लागि भोलिको खेल जित्नैपर्ने हुन्छ।’
उनले नेपाली टोलीले प्रयाप्त प्रशिक्षण गर्न नपाएकाे पनि पुन: दाेहर्याएका छन्। ‘हामीसँग युवा तर ट्यालेन्टेड खेलाडीको टिम छन्। तर, धेरै मैत्रीपूर्ण खेलहरु खेलेका छैनौं। त्यसैले खेल्न कठिन हुनसक्छ,’ उनले भने।
उनीले खेलाडीलाई बढी प्रेसर नदिनेसमेत बताए। ‘चाइनिज ताइपेइको टिममा नयाँ खेलाडीहरु छन् र प्रशिक्षक पनि नयाँ छन्,’ उनले भने,‘यसकाे हामीले फाइदा लिन सक्छाैं। तर, खेलाडीलाई बढी प्रेसर दिने अवस्था छैन।’
नेपाल र ताइपेइ विश्वकप क्वालिफायर्सको समूह बी चौथो र पाँचौ स्थानमा छन्। विश्वकप क्वालिफायरको समूह ‘बी’ मा रहेको नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ। यसअघि सबै अवे खेल खेलिसकेको नेपालले अब होम गेमका खेल मात्र खेल्न बाँकी छ।
५ खेलमा १ जित र ४ खेलमा हार व्यहोरेको नेपाल चौथो स्थानमा छ। होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ। विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्रै बाँकी छ। नेपाल रहेको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन्।
अंक तालिकाको पुछारमा रहेको ताइपेइले अंक जोड्न सकेको छैन। अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने छ।
अस्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ। यद्यपि, नेपालले जेठ २० गते चाइनिज ताइपेइ, २५ गते गते जोर्डन र २८ गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।