काठमाडौं– प्रदीप हुमागाईको प्रशिक्षणमा रहेको अमेरिकाको किस्टोन एथलेटिक क्लबले पोकोनो कप मेमोरियल डे २०१८ को उपाधि जितेको छ।
किस्टोनले आइतबार भएको फाइनलमा क्लिनटफ स्टालियन्स एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गरेको हो। दुई दिनसम्म चलेको प्रतियोगितामा ६ टिमले सहभागीता जनाएका थिए। किस्टोनले समूह चरणमा २ खेलमा जित र एक खेलमा हार ब्यहोरेको थियो। प्रतियोगिता पेन्सलभानिया राज्यको पूर्वी क्षेत्रको यू–१९ स्तरको हो।

अमेरिका बस्दै आएका प्रदीप पेन्सलभानियाको किस्टोन एथलेटिक क्लबको प्रशिक्षकको रुपमा काम गर्दै आएका छन्। किस्टोन इंग्लिस क्लब वेस्ट ह्यामको एकेडेमी अन्तर्गत रहेको क्लब हो।
थ्रीस्टारका पूर्व प्रशिक्षक समेत रहेका उनले गत फेब्रुअरीमा लन्डनस्थित वेस्ट ह्यामको अन्तर्राष्ट्रिय एकेडेमीमा कोचिङ कोर्स गरेका थिए।
यसअघि गत कार्तिकमा प्रदीप अखिल नेपाल फुटबल संघ (एन्फा)ले सञ्चालन गरेको एएफसी 'ए' कोचिङ कोर्षमा उत्कृष्ट बनेका थिए। २० जना पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षकलाई पछि पारेर प्रदीप पहिलो भएका थिए।
प्रदीपले सन् २०१२–१३ को 'ए' डिभिजन लिगमा थ्री स्टार क्लबलाई लिग जिताएका थिए। पहिलो पटक 'ए' डिभिजन क्लब सम्हालेकै वर्ष थ्री स्टारलाई लिग च्याम्पियन बनाएपछि उनी उत्कृष्ट प्रशिक्षक समेत बन्न सफल भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।