काठमाडाैं- जिनेदिन जिदानले स्पेनिस क्लब रियल मड्रिडले आफूलाई विश्वास नगरेपछि प्रशिक्षकबाट राजीनामा दिएको बताएका छन्। फ्रान्सेली प्रशिक्षक जिदानले समर्थकको नाममा खुल्ला पत्र लेख्दै क्लबले विश्वासगर्न छाडेपछि आफूले राजीनामा दिएको बताएका हुन्।
सान्टियागो बर्नाबेउमा छँदा रियललाई दुई कार्यकालमा ३ च्याम्पियन्स लिग र दुई ला लिगा उपाधि जिदानले जिताएका थिए। तर, सन् २००९/१० पछि रियल पहिलो पटक उपाधिविहीन भएपछि जिदानले एक सिजन सम्झौता बाँकी छदै रियल छाडेका हुन्।
‘यसपटक क्लबले मलाई विश्वास नगरेको कारण क्लब छाड्दैछु। मैले मलाई चाहिने विश्वास पाइनँ। टोलीलाई दिर्घकालिन रुपमा बलियो बनाउन चाहिने साथ पनि मैले पाउन सकिनँ। हामीले जे हासिल गर्यौं, म त्यस सम्मानको अपेक्षा गर्दछु ,’ उनले भनेका छन्।
उनले रियलका अध्यक्ष फ्लोरेन्टिनो परेजले आफूलाई सम्मान नगरेको आरोप लगाएका छन्। ‘मैले जब मार्च २०१९ मा आठ महिनाको विश्रामपछि रियल फर्कने निर्णय गरें, त्यो अध्यक्ष फ्लोरेन्टिनो पेरेजको प्रस्ताव र तपाईं समर्थकको निरन्तर आग्रहको कारण थियो। उनको विरुद्धमा अरु थिए, तर उनले भिडेर मलाई ल्याए। म अध्यक्ष पेरेजलाई धन्यवाद दिन्छु। मेरो भित्रि हृदयदेखि नै सधैं आभार व्यक्त गर्छु। तर, पछिल्लो केही महिना क्लब र अध्यक्षसँग मेरो जस्तो सम्बन्ध रह्यो, त्यो अन्य प्रशिक्षकको भन्दा केही फरक रहोस् भन्ने मैले चाहेको थिएँ। मैले कुनै किसिमको विशेषाधिकार भने पक्कै चाहेको होइन,’ उनले लेखेका छन्।
उनले क्लबले अनआवश्यक दबाब दिएको आरोप पनि लगाएका छन्। ‘जब टोलीले हार्थो र अर्को खेल पनि हारे म नाम बर्खास्त हुन्छ भनेर पत्रिकामा आउँथ्यो। म मात्र नभएर सारा टोलीलाई यसले निकै दु:खी बनाउँथ्यो। पत्रिकामा यस्तो खबर क्लबबाट नै जानाजान पठाइन्थ्यो र टोलीमा शंका र असमझदारी निम्त्याउने काम भयो,’ उनले लेखेका छन्।
उनले आफूले गरेको मेहनत पनि क्लबले बिर्सिएको आरोप लगाएका छन्। ‘मलाई थाहा छ, जित दिलाउन नसकेपछि क्लब छाड्नुपर्छ। तर, यसको सँगसँगै मैले दिन दिनै गरेको मिहिनेत, खेलाडीसँग मेरो सम्बन्धले आएको प्रदर्शन, झन्डै डेढ सय जनासँग मैले गरेको काम र टोलीमाथिको मेहनत पनि क्लबले बिर्सिएको छ,’ उनले लेखेका छन्।
साथै गत सिजन रियलले खराब प्रदर्शन गर्दा समर्थन नगरेको आरोप समेत लगाएका छन्। ‘म विश्वको सर्वोत्कृष्ट प्रशिक्षक होइन। यद्यपि, मलाई थाहा छ क्लबलाई के आवश्यक पर्दछ। रियलमा २० वर्ष बिताउँदा मैले यो बुझेको छु, समर्थकलाई जित चाहिन्छ। तर त्योभन्दा बढी यो अपेक्षा हुन्छ कि टोलीले आफ्नो शत प्रतिशत मिहिनेत गरोस्। तर, मसँग सबैलाई त्यो शक्ति र मनोबल दिने क्षमता छ जुन उनीहरुलाई आवश्यक पर्छ। चाहे त्यो खेलाडी होस्, प्रशिक्षण टोलीको सदस्य या क्लबको कर्मचारी नै किन नहोस्,’ उनले लेखेका छन्।
रियल ला लिगामा शहरी प्रतिस्पर्धी एट्लेटिको मड्रिडसँग पछि पर्दै उपिवेता बनेको थियो। ‘वर्तमान समयमा कुनैपनि प्रशिक्षकको एक क्लबमा २ वर्ष समय हो, सायद केही बढी पनि। तर, त्योभन्दा बढी बस्ने हो भने व्यक्तिगत सम्बन्ध पनि महत्त्वपूर्ण हुन्छ। त्यो सम्बन्ध पैसा र नाम भन्दापनि महत्त्वपूर्ण हुन्छ। सबै पक्षभन्दा बढी, त्यसलाई सम्हाल्न जरुरी हुन्छ,’ उनले भने।
यस्तै,उनले रियलमा आफूलाई मृत्युसम्म साथ दिने खेलाडी पनि पाएको भन्दै सबैलाई धन्यवादसम्म दिएका छन्।
‘विगत २० वर्ष देखि म म्याड्रिड सहरमा आएर यो सेतो जर्सी लगाएको पहिलो दिनदेखि मैले तपाईंहरुको माया पाउँदा आफूलाई भाग्यमानी ठान्छु। मैले निकै राम्रा खेलाडीको साथ पाएँ, मलाई मृत्युसम्म साथ दिने। जब स्थिति खराब हुन्थ्यो, उनीहरुले मिहिनेत गरेर टोलीलाई जित दिलाए। यो उनीहरुको मप्रतिको विश्वास र मैले उनीहरुलाई गर्ने विश्वासकै कारण सम्भव भएको थियो,’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।