काठमाडाैं- विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपा ४७औं संस्करण अर्जेन्टिनामा नहुने भएको छ। अर्जेन्टिनामा कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएपछि दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले प्रतियोगिता स्थल सार्ने योजना बनाएको हो।
अर्जेन्टिनामा हाल दैनिक ३४ हजार बढी दैनिक संक्रमण देखिएको छ। पछिल्लो दुई सातामा ५४ प्रतिशत संक्रमण दर बढेपछि प्रतियोगिता स्थल सार्ने निर्णय लिएको हो।
सरकारबाट प्रतियोगिता गर्न आवश्यक स्वीकृति पाउन कठिन हुने देखेपछि स्थगित गर्ने निर्णय लिइएको हो।
सरकारले सुरक्षा मापदण्ड बनाएर घरेलु खेलहरू सञ्चालन गर्न अनुमति दिएको छ। तर, अनावश्यक यात्रा र क्रियाकलापहरू सरकारले रोक लगाएको छ।
यसअघि राजनीतिक अस्थिरताका कारण कन्मेबोलले सहआयोजक कोलोम्बियालाई हटाएर अर्जेन्टिनालाई पूर्ण आयोजनाको जिम्मेवारी दिइएको थियो। राष्ट्रपति इभान डुकविरूद्ध त्यहाँको नागरिकले बिरोध प्रदर्शन गर्नुका साथै सडकमा हिंसात्मक घटना भएको थियो। कन्मेबलले छिट्टै नयाँ आयोजकबारे जानकारी दिने जनाएको छ।
यद्यपि, प्रतियोगिता चिली या अमेरिकामा हुनसक्ने कन्मेबलले संकेत दिएको छ। यी देशहरुमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ। अर्जेन्टिनाका छिमेकी देशहरुमा पनि कोरोना संक्रमितको संख्या उच्चरहेको छ। उरुग्वेमा कोरोना संक्रमितको अवस्था अर्जेन्टिनामा भन्दा खराब रहेको बताइन्छ।
‘कन्मेबलले कन्टिनेन्टल प्रतियोगिताको आयोजना गर्न चासो देखाएका अन्य देशहरूबाट आएका प्रस्तावहरूको विश्लेषण गरिरहेको छ, संगठनले एक विज्ञप्तिमा भनेको छ, अपडेट चाँडै घोषणा गरिनेछ।’
कोपा अमेरिका १३ जुन देखि १० जुलाईसम्म हुने कार्यक्रम रहेको थियो। तर, आयोजना स्थल परिवर्तन भएसँगै खेल मिति पनि केही परिवर्तन हुन सक्ने जनाइएको छ। प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको थियो।
समूह ‘ए’ मा अर्जेन्टिना, बोलिभिया,उरुग्वे, चिली र पाराग्वे छन्। समूह ‘बी’ मा कोलोम्बिया, ब्राजिल, भेनेजुएला, इक्वेडर र पेरु छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।