मुम्बई- चेन्नई सुपरकिंग्सले ११औं सिजन आइपिएलको उपाधि जितेको छ। आइतबार मुम्बईको वाङखाडे रंगशालामा भएको फाइनल भिडन्तमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै चेन्नई च्याम्पियन बनेको हो। चेन्नईले तेस्रो पटक आइपिएलको उपाधि जितेको हो।
हैदारावादले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले ९ बल बाँकी छदा २ विकेटको क्षतिमा पार गर्यो। चेन्नईका लागि ओपनिङ ब्याटसम्यान शेन वाटसनले अविजित शतक प्रहार गरे। उनले नटआउट १ सय १७ रन जोडे। ५७ बलको सामना गरेका वाटसनले ११ चौका र ८ छक्का प्रहार गरे। उनी खेलको म्यान अफ दि म्याच भए। यस्तै अम्बाती रायदुले नटआउट १७ रन बटुले। त्यसअघि फाप डु प्लेसिस १० र सुरेश रैना ३२ रनमा आउट भएका थिए। हैदरावादले बलिङमा राम्रो सुरुवात गरेपनि वाटसनले मध्यक्रममा उत्कृष्ट ब्याटिङ गरेका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ६ विकेटको क्षतिमा १ सय ७८ रन जोड्यो। उसका लागि युसुफ पठानले २५ बलमा नटआउट ४५ रन जोडे। यस्तै केन विलियमसनले ३६ बलमा ४७ रन जोडेका थिए। सकिब अल हसनले १५ बलमा २३ र कार्लोस बाथवेटले ११ बलमा ३ छक्का सहित २१ रन जोडे। बलिङमा चेन्नईका ६ जना बलरले १-१ विकेट लिएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।