काठमाडाैं- नेपाली राष्ट्रिय फुटबल टोली इराकसँगको मैत्रीपूर्ण खेलपछि कुवेत प्रस्थान गर्दैछ। कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोटको बाँकी तीन खेल खेल्नकाे लागि नेपाली टाेली आइतबार कुवेत प्रस्थान गर्न लागेकाे हाे।
टोली इराकको स्थानीय समयअनुसार साँझ ६ बजे स्थलमार्ग हुँदै कुवेततर्फ जानेछ। करिब २ घण्टाको बस यात्रापछि टाेली कुवेत पुग्ने व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए ।
इराकको बसरास्थित अल फयहा अन्तर्राष्ट्रिय मैदानमा शनिबार भएकाे खेलमा नेपाल घरेलु टिमसँग ६-२ गाेल अन्तरले पराजित भएकाे थियाे। यसलाई विश्वकप तयारी खेलकाे रुपमा हेरिएकाे छ।
कुवेतमा नेपालले छनोट चरणका तीन खेल खेल्नेछ । नेपालले जेठ २० गते चाइनिज ताइपेइ, २५ गते गते जोर्डन र २८ गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।
विश्वकप क्वालिफायरको समूह ‘बी’ मा रहेको नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ। यसअघि सबै अवे खेल खेलिसकेको नेपालले अब होम गेमका खेल मात्र खेल्न बाँकी छ।
५ खेलमा १ जित र ४ खेलमा हार व्यहोरेको नेपाल चौथो स्थानमा छ। होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ।
विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्रै बाँकी छ। नेपाल रहेको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन्।
अंक तालिकाको पुछारमा रहेको ताइपेइले अंक जोड्न सकेको छैन। अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने छ।
अस्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।