काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र प्रदेश नम्बर ७ ले विजयी सुरुवात गरेको छन्।
एपिएफले उदघाटन खेलमा प्रदेश नम्बर ४ लाई ५ विकेटले पराजित गरेको हो। प्रदेश ४ ले दिएको २ सय ४० रनको लक्ष्य एपिएफले ५ विकेटको क्षतिमा ३६.३ ओभरमा पार गर्यो। एपिएफका लागि रोहितकुमार पौडेलले नटआउट ७३ रन जोडे। उनले ४१ बलमा १० चौका र ३ छक्का प्रहार गरे। यस्तै पृथु बाँस्कोटाले ५३ रनको योगदान दिए। ओपनर सुवास खकुरेलले ४८ रन बटुलेका थिए भने प्रदीप ऐरीले ३७ रन बनाए। बलिङतर्फ प्रदेश नम्बर ४ का विपिन क्षेत्री, मेख सेन, हरि चौहान, सन्तोष न्यौपाने र सुमान घिमिरेले १–१ विकेट लिए।


त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ४ ले ९ विकेट क्षतिमा २ सय ३९ रन जोड्यो। उसका लागि विधान श्रेष्ठले ४३ र हरि चौहानले ५७ रनको योगदान दिए। बलिङमा एपिएफका कमलसिंह ऐरीले ३ र अमरसिंह रटेउलाले २ विकेट लिए।
आइतबार नै भएको अर्को खेलमा प्रदेश ७ ले कर्णाली प्रदेशलाई ४८ रनले हरायो। प्रदेश ७ ले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको कर्णालीले २२.२ ओभरमा ७७ रन जोड्दा सवै विकेट गुमायो। कर्णालीका लागि रविन्द्र शाहीले २९ र दिवन पुनले १३ रन जोड्दा अन्य ९ ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। बलिङमा प्रदेश ७ का शेर मल्लले ५ विकेट लिए। विनोद लामा र सन्तोष भट्टले २–२ विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश ७ ले ३१.३ ओभरमा १ सय २५ रन जोड्दा सवै विकेट गुमायो। उसका लागि सन्जु धामीले ५४ र सुरेन्द्र चन्दले २५ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। बलिङमा कर्णालीका टेक सलामीले ५ विकेट लिए भने दिनेश पुनले २ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।