काठमाडाैं- सन् २०१२ पछि पहिलो पटक लिग उपाधि जित्न नसकेपछि इटालियन क्लब युभेन्ट्सले मुख्य प्रशिक्षक आन्द्रेय पिर्लोलाई बर्खास्त गरेको छ। युभेन्ट्सले प्रशिक्षकको जिम्मा दिएको एक वर्षपछि क्लबका पूर्व खेलाडी पिर्लोलाई बर्खास्त गरेको हो।
गत सिजन युभेन्ट्सले अप्रत्यासित रुपमा माउरिजियो सार्रीलाई बर्खास्त गरेर पिर्लोलाई मुख्य प्रशिक्षककाे जिम्मा दिएकाे थियाे। तर, यस सिजन पिर्लोको प्रशिक्षणमा युभेन्ट्सले सिरी ए को उपाधि रक्षा गर्न सकेन। यद्यपि, पहिलो सिजनमा नै इटालियन सुपर कप र कोप्पा इटालिया भने पिर्लोले जिताए।
पिर्लोले २०१५ मा खेलाडीको रुपमा युभेन्ट्स छाडेपछि ५ वर्षपछि प्रशिक्षण सम्हालेका थिए। खेलाडीका रुपमा सन् २०११ देखि १५ सम्म युभेन्ट्सबाट खेलेका पिर्लोले १ सय ६४ खेल खेलेका थिए।
उनले ४ पटक लिग उपाधि जितेका छन्। एसी मिलानबाट युभेन्ट्स आएका पिर्लोले २-२ पटक लिग उपाधि र च्याम्पियन्स लिग जितेका थिए।
पिर्लोले इटालीको राष्ट्रिय टोलीका लागि १ सय १६ खेल खेलेका थिए। उनले सन् २००६ को विश्वकप जिताउँदा प्रभावशाली प्रदर्शन गरेका थिए।
युभेन्ट्सले एक विज्ञप्ति जारी गर्दै पिर्लोलाई धन्यवादसमेत दिएको छ।
युभेन्ट्सले पूर्व प्रशिक्षक मासिमिलियानो एलेग्रीलाई मुख्य प्रशिक्षक बनाउने तयारी थालेको छ।
अलेग्रीको प्रशिक्षणमा युभेन्ट्सले २०१४ देखि २०१९ सम्म लगातार पाँच पटक सिरी ए उपाधि जिताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।