काठमाडाैं- नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले इराकसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि आफ्नाे टाेली तयार रहेकाे बताएका छन्।
बिहीबार साँझ इराकी सञ्चार माध्यमसँग कुरा गर्दै किरणले यो खेललाई ठूलो अवसरको रुपमा लिएकाे भन्दै मैदानमा उत्रिन तयार रहेकाे बताएका हुन्। नेपालले शनिबार इराकसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ।
‘नेपालका लागियाे ठूलो अवसर हो। यसका लागि हामी तयार छौं,’ उनले भने। इराकसँगको खेलले विश्वकप छनोटमा सहयोग गर्ने बताउँदै किरणले प्राप्त नतिजाले ठूलो अर्थ राख्ने बताए।
‘पक्कैपनि यसले विश्वकप छनोटमा सहयोग गर्छ। यसले ठूलो अर्थ राख्छ,’ उनले भने। यस्तै, नेपाली टोलीका सदस्य रोहित चन्दले इराकसँग राम्राे खेल्ने बताए।
‘मैत्रीपूर्ण खेल खेल्न पाउदा खुशी लागेको बताए।हामीले उमेर समूहमा इराकसँग खेलिसकेका छौं। सिनियर टिमसँग खेल्न लागेकाे याे पहिलोपटक हाे’ चन्दले भने, ‘उनीहरुको टिम बलियो र राम्रो छ। आशा छ हामी राम्रो खेल्नेछौं।’
फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोट अन्तर्गत कुवेतमा ३ खेल खेल्नुअघि मैत्रीपूर्ण खेलका लागि नेपाली टिम बुधबार इराक पुगेसकेको छ।
इराकको बसरास्थित अल फयहा अन्तर्राष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ। नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ।
बिहीबार साँझ भने नेपाली टाेलीले सामान्य अभ्यास समेत गरेकाे थियाे। फिफा वरीयतामा नेपालभन्दा इराक १ सय ३ औं स्थानमाथि छ। फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ। नेपाल १ सय ७१ औं स्थानमा छ।
इराकविरुद्धको खेल कुवेती प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको पहिलो खेल हुनेछ।
एन्फाले औपचारिक रुपमा उनलाई चैत २२ गते राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो।
विश्वकप छनोटका लागि भनेर एन्फाले कुवेती प्रो लाइसेन्सधारी अलमुताइरीलाई अनुबन्ध गरेको हो। उनी कतार फुटबल संघको सहयोगमा नेपाल आएका हुन्।
इराकविरुद्धको खेलपछि अर्थात भोलिपल्ट जेठ १६ गते नेपाली टोली स्थलमार्ग हुँदै कुवेत जाने छ। त्यहाँ टोलीले तीन विश्वकप र एसिया कप छनोटका खेल्नेछ।
नेपालले जेठ २० गते चाइनिज ताइपेइ, २५ गते गते जोर्डन र २८ गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।
विश्वकप क्वालिफायर्सको समूह बी मा रहेको नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ। यसअघि सबै अवे खेल खेलिसकेको नेपालले अब होम गेमका खेल मात्र खेल्न बाँकी छ।
५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको नेपाल साथ चौथो स्थानमा छ। होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ।
विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्रै बाँकी छ। नेपाल रहेको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन्।
अंक तालिको पुछारमा रहेको ताइपेइले अंक जोड्न सकेको छैन। अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने छ।
अस्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।