पोखरा– युवा क्रिकेटर सन्दीप लामिछाने आइतबार पोखरामा सम्मानित भएका छन्। उनलाई प्रतिभा मावि पोखराले १ लाख नगदसहित दोसल्ला ओढाएर सम्मान गरेको हो।
लामिछानेलाई प्रदेश नम्बर ४ का सामाजिक विकासमन्त्री नरदेवी पुनले डमी चेक हस्तान्तरण गरिन्। मन्त्री पुनले प्रदेश नम्बर ४ ले पनि सन्दीप जस्तै खेलाडी जन्माउन प्रयत्न गर्ने बताइन्।
त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले सन्दीपलाई दोसल्ला ओढाउँदै एक युवाको सम्मानले अन्य युवामा पनि राम्रो प्रभाव पर्ने बताए।
सम्मान ग्रहण गरेपछि सन्दीपले मिहिनेतबाट आफूले सफलता हासिल गरेको बताए। उनले जुनसुकै क्षेत्रमा लागे पनि युवाले देशको नाम चिनाउनुपर्नेमा जोड दिए।
विद्यार्थी र युवाहरुको बाहुल्य रहेको कार्यक्रममा उनले भने, ‘जहाँ जे गरे पनि नेपाल आमा र भूमिलाई नबिर्सनुहोला, सफलता पाइहालिन्छ।’
इन्डियन प्रिमिएर लिग (आइपिएल)मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै विद्यालयले सम्मान गरेका सम्मान कार्यक्रमका संयोजक किरण सापकोटाले जानकारी दिए।
आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका सन्दीपले दिल्ली डेयरडेभिल्समा आबद्ध भएर उत्कृष्ट बलिङ मार्फत विश्वभरका क्रिकेटरहरुबाट प्रशंसा बटुलेका छन्। आइपिएलकै प्रदर्शनका कारण उनी वेष्ट इन्डिज विरुद्ध आइसिसी विश्व ११ टिममा समेत परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।