काठमाडौं– वीरगञ्जको नारायणी अस्पतालले केही दिनदेखि सामाजिक सञ्जालमा अस्पतालका बारेमा प्रकाशित भइरहेको समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विहीबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले बारा निवासी बिनोद मिश्र जेठ १० गते अस्पतालमा आएको र सोही दिन डायलासिस आवश्यकता अनुसार गरिएको भन्दै अस्पतालले त्यसपश्चात सोही दिन अन्य एक जना सिकिस्त बिरामीको पनि डायलासिस गरिएको जानकारी दिएको छ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा उदय नारायण सिंहले महामारीको यस घडिमा सेवा प्रदान गर्दै आएको अवस्थामा स्वास्थ्यकर्मीहरुको मनोबल बढाउनु पर्नेमा अनावश्यक टिका टिप्पणी गरी स्वास्थ्यकर्मीहरुको मनोबल घटाउने काम कसैबाट नहोस् भनि अपिल गरेको छ। 
स्ट्यान्डअप कमेडियन आदर्श मिश्राले अस्पतालको लापरवाहीका कारण आफ्ना बुवाको निधन भएको बताएसँगै यो विषय अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ। ४ वर्षदेखि मिर्गौैलासम्बन्धी समस्याबाट पीडित रहेका आदर्शका बुवा विनोद मिश्राको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो।
बुवाको निधन भएको दोस्रो दिन (बुधबार) एक भिडियो सन्देश जारी गर्दै आदर्शले आफ्ना बुवाको निधन हुनुमा पर्साको वीरगन्जस्थित नेशनल मेडिकल कलेज र नारायणी अस्पताल जिम्मेवार रहेको बताएका छन्।
तर नारायणी अस्पताले भने आवश्यकता अनुसार मिश्रको डायलासिस गरेको जनाएको छ।
यो पनि पढ्नुहोस्: कमेडियनको आँखामा आँसु– अस्पतालहरु मिलेर खाइदिए मेरो बाबाको जीवन !
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।