काठमाडौं– स्ट्यान्डअप कमेडियन आदर्श मिश्राले अस्पतालको लापरवाहीका कारण आफ्ना बुवाको निधन भएको बताएका छन्। ४ वर्षदेखि मिर्गौैलासम्बन्धी समस्याबाट पीडित रहेका आदर्शका बुवा विनोद मिश्राको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो।
बुवाको निधन भएको दोस्रो दिन (बुधबार) एक भिडियो सन्देश जारी गर्दै आदर्शले आफ्ना बुवाको निधन हुनुमा पर्साको वीरगन्जस्थित नेशनल मेडिकल कलेज र नारायणी अस्पताल जिम्मेवार रहेको बताएका छन्।
‘दुई हप्ता अगाडि बाबालाई मिर्गौलाको डायलासिसका लागि लैजाँदा एपीओ २९० छ, तपाईंको डायलासिस यहाँ हुँदैन भनेर हामीलाई अस्पतालबाटै निकालिदिएका थिए,’ आदर्शले भिडियोमा भनेका छन्।
आदर्शका अनुसार उनका बुवा विनोदले ४ वर्षदेखि नेशनल मेडिकल कलेज (एनएमसी)मै डायलासिस गराउँदै आएका थिए। एकपटक डायलासिस गराएबापत अस्पतालले सरकारबाट ३५ सय रुपैयाँ भुक्तानी लिँदै आएको थियो। ‘कमाउने बेला तिमीहरुले कमाउने, बिरामीलाई गाह्रो भएको बेला चाहिँ धपाइदिने? त्यहाँ मेसिन र डाइलाइजर केही पनि कामलाग्दा छैनन्,’ आदर्शले भिडियोमा पीडा व्यक्त गर्दै भनेका छन्।
नेशनल मेडिकल कलेजमा डायलासिसका लागि भारतीय कम्पनी नेफ्रो प्लसले ठेक्का लिएको र उक्त कम्पनीका प्रतिनिधि (कर्मचारी)हरुले डायलासिसमा गम्भीर लापरबाही गर्ने गरेको आदर्शले बताएका छन्।
‘नेफ्रो प्लसबाट यिनीहरुले कमिसन खाएर एउडा डाइलाइजरले १२ वटासम्म डाइलासिस गरेका छन्, मेरो बाबाको। ८–८ वटा त मिनिमम छ,’ आदर्शले भक्कानिदै भनेका छन्, ‘मसँग छ, सबै लिस्ट। गत वर्ष नारायणीमा कोभिड वार्ड बनाउँदा त्यहाँको डाइलासिस बिरामीलाई एनएमसीमा सिफ्ट गरिएको थियो, डाइलाइजर मेसिन नफेरेर। नेफ्रो प्लसले पैसा बचाउन निकै धाँधली गरिरहेको थियो।’
एनएमसीको ‘गुण्डागर्दी’ र नारायणी अस्पतालको ‘प्रतिशोध’ले गर्दा आफूले बुवा गुमाउनु परेको आदर्शले पीडा पोखेका छन्।
‘कलेजमा विद्यार्थीहरुले शुल्क बढायो, सुविधा छैन भनेर आन्दोलन गर्दा गुण्डा बोलाएर कलेजमा विद्यार्थी कुट्न लगाएको हो। त्यतिसम्म घटिया अस्पताल हो, एनएमसी,’ आदर्शले भिडियोमा भनेका छन्, ‘एनएमसीको गुण्डागर्दीले गर्दा आज मेरो बाबा हुनुहुन्न। यसको सुनुवाइ नै छैन। यसको छानबिन हुन्छ? हुँदैन।’
नारायणी अस्पतालका मेसुले सञ्चारमाध्यममार्फत नै प्रदेश २ का सबै मिर्गौलापीडित बिरामीको आफ्नो अस्पतालले डायलासिस गराइदिने भनेको, तर अस्पतालमा एउटा मेसिन बिग्रिँदा त्यहाँ काम गर्ने नर्सले दुईटै मेसिन बिग्रिएको भनेर अफवाह फैलाएको आदर्शको भनाइ छ।
बुवाको ‘ब्रेन’मा नै युरिया पुगिसकेकाले डाक्टरले ४ घण्टा दायलासिस गरिदिन भनेपनि नारायणी अस्पतालकी नर्सले १ घण्टा घटाएर ३ घण्टा मात्रै डायलासिस गराएको आदर्शले बताएका छन्।
‘डाक्टरले युरिया उहाँको ब्रेनमा पुगिसक्यो, प्लिज ४ घण्टा डायलासिस गरिदिनुस् भन्नुभयो। डाक्टर हुँदा चार घण्टाको टाइमर सेट गर्ने, डाक्टर गाइसकेपछि ३ घण्टामा झारिदिने! १ घण्टा टाइम घटाएर बाँच्ने आयु पनि घटाइदिएको हो नि दिदी हजुरले,’ आदर्शले पीडा पोखेका छन्।
आदर्शले नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी अस्पताल मिलेर आफ्ना बुवाको जीवन ‘खाइदिएको’ बताएका छन्।
‘कति मानिसको (जीवन) खान्छन् मलाई थाहा छैन। तर, लड्ने प्रयास जारी राखौं, जति जीवन बचाउन सकिन्छ बचाऔं। मबाट जति हुन्छ, म गर्न तयार छु,’ आदर्शले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।