काठमाडौं– पर्सामा एक सर्जिकल पसलका कर्मचारीलाई प्रहरीले कुटपिट गरेको भिडियो बाहिरिएपछि उक्त घटनाको छानबिन गर्न प्रदेश २ प्रहरी कार्यालयले समिति गठन गरेको छ।
वीरगन्ज महानगरपालिका– ८ आर्मी ब्यारेकपछाडि रहेको प्याथो सर्जिकल हाउसका कर्मचारी अफरोज अहमदलाई पर्साका डीएसपी प्रह्लाद कार्कीले पसलभित्रै प्रवेश गरेर बुधबार कुटपिट गरेको भिडियो बाहिरिएको थियो। प्रहरीले नै कुटपिट गरेको भिडियो बाहिरिएपछि प्रदेश २ प्रहरी कार्यालयले एसपी कृृष्ण प्रसाईं नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। छानबिनका क्रममा प्रहरीको गल्ती पाइए प्रहरी नियमावली बमोजिम कारबाही गरिने प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।
भिडियो खिचेको आरोपमा प्रहरीले आफूलाई कुटपिट गरेको अहमदले बताएका छन्। कारोनाका कारण जारी निषेधाज्ञामा वीरगञ्जमा बिहान ८ बजेसम्म मात्रै किराना पसल खोल्ने व्यवस्था गरिएको ८ बजेपछि पसल खालेको भन्दै प्रहरीले किराना पसललाई कुटपिट गरेका थिए। सोही भिडियो आफूले खिचेपछि किन भिडियो खिचेको भन्दै कुटपिट भएको अहमदको भनाइ छ।
प्रहरीले अहमदमाथि कुटपिट गरेको सर्जिकल हाउसमा राखिएको सिसी टिभीले कैद गरेपछि उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।