काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन्। मल्लको काठमाडौंस्थित निदान अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान ७ बजेतिर निधन भएको हो।
देउवाले बिहीबार शोक विज्ञप्तिमार्फत कांग्रेसका नेता, पूर्वप्रदेश प्रमुख मल्लको निधनले एक समाजसेवी, असल, वौद्धिक एवं शालिन व्यक्तित्वलाई गुमाएको उल्लेख गरेका छन्।
देउवाले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्ना तर्फबाट समवेदना प्रकट गरेका छन्। कैलाली निवासी मल्ल कांग्रेसका महासमिति सदस्य समेत थिए।
चार दशकभन्दा अघिदेखि कैलालीमा राजनीति गर्दै आएका मल्ल विसं २०३७–२०४६ सम्म राष्ट्रिय पंचायतका सदस्य भएका थिए।
२१ वर्षको उमेरबाटै राजनीतिमा लागेका मल्लले २०२८ सालमा डोटी बोगटानअन्तर्गत पण्डौन गाउँ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष, ०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहाकार र त्रिभुवन विश्वविद्यालयको सभासद् भएका थिए।
पञ्चायत र पछिका दिनमा राप्रपाको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभा अघि नेपाली कांग्रेस प्रवेश गरेका थिए। मल्लका १ छोरा र १ छोरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।