काठमाडौं– नेपाल राष्ट्र बैंकले सेयर बजारमा हुने लगानीलाई थप कडाइ गरेको छ। मंगलबार परिपत्र जारी गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई दोस्रो बजारमा लगानी गर्न कडाइ गरेको हो।
नयाँ व्यवस्थाअनुसार कुनै पनि कम्पनीको दोस्रो बजारमा सूचिकृत भएको एक वर्षभन्दा कम समयका लागि लगानी गर्न नपाउने भएका छन्।
सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ।
बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न नपाउने बैंकको सर्कुलरमा उल्लेख छ।
खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्नेछन्। तर, यसअघिसम्म लगानी गरेका शेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न यस व्यवस्थाले बाधा नपुग्ने बैंकले जनाएको छ।
विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पाइने छैन। यसअघिसम्म त्यस्तो शेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री/विनिवेश गरिसक्नुपर्ने राष्ट्र बैंकको स्कुर्लरमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।