काठमाडाैं- नेपालको पुँजीबजारमा सोमबार एकै दिन दुईवटा रेकर्ड बनेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढे पनि हालसम्मकै धेरै रकमको कारोबार भएको छ।
आज नेप्सेमा कूल १३ अर्ब १७ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कीर्तिमानी कारोबार भएको हो। यसअघि जेठ ५ गते बुधबार ११ अर्ब ९५ करोड ८० लाख रुपैयाँको कारोबार हुँदा रेकर्ड बनेको थियो।
साथै, आज नेप्से परिसूचक ३.०५ अंकले बढेर २८२३.०५ विन्दुमा पुग्दा नयाँ रेकर्ड बनेको छ। आइतबार (हिजो) नेप्से २८२०.०० विन्दुमा पुग्दा बनेको रेकर्ड आज तोडिएको हो।
नेप्सेमा आज २१६ वटा कम्पनीका दुई करोड ७१ लाख ४० हजार २२० कित्ता सेयर एक लाख ३६ हजार ४९९ पटक खरिद-बिक्री भएका थिए।
आज बरुण हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.९५ प्रतिशतका दरले कमाएका छन्। एक्सल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ४.४७ प्रतिशतका दरले गुमाएका छन्।
आज हाइड्रोइलेक्ट्रसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका सेयर सबैभन्दा धेरै एक अर्ब २६ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा पनि सोही कम्पनीका २१ लाख नाै हजार ९०७ कित्ता सेयर किनबेच भएका थिए। हाइड्रोइलेक्ट्रसिटीकै सेयर सबैभन्दा बढी ११ हजार ४९६ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।
आज बैंकिङ, हाइड्रोपावर, इन्भेस्टमेन्ट, म्युचुअल फण्ड र निर्जीवन बिमा समूहको परिसूचक उकालो लाग्दा बाँकी समूहमा गिरावट आएको छ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज १.३० अंकले बढेर ५०८.४९ विन्दुमा कायम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।