काठमाडाैं- म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले सर्जियो अगुएरो अहिलेसम्मकै विश्वको उत्कृष्ट खेलाडीसँग खेल्न लागेकाे बताएका छन्।
अर्को सिजन स्पेनिस क्लब बार्सिलोनासँग अनुबन्ध गर्न निकटमा अगुएरोबारे बाेल्दै उनले यस्ताे बताएका हुन्।
उनको प्राथमिकता क्याम्प नाउमा कप्तान लिओनल मेसीसँग सँगै खेल्नु रहेकाे छ। ग्वार्डिओलाले पनि विश्वको उत्कृष्ट खेलाडी भनेर मेसीलाई नै भनेका हुन्।
अगुएरोले अन्य ठाउँमा उपलब्ध तलबभन्दा कम तलबमा बार्सिलोना जान स्वीकार गरेका हुन्। तर, यदि टिमले च्याम्पियन्स लिग जितेमा उनले बोनस प्राप्त गर्नेछन्।
यस सिजन चोटका कारण उनले १९ खेलमा ६ गोल मात्र गरेका थिए। घरेलु मैदान इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा सिटीले एभर्टनलाई ५-० गोल अन्तरले पराजित गर्दा उनले २ गाेल गरेका थिए। उनले हालसम्म क्लबका लागि ३८९ खेलमा २६० गोल गरेका छन्।
करार समाप्त भएसँगै ३२ वर्षीय अगुएरोले सिजनको अन्त्यपछि सिटी छाड्ने छन्।
ग्वार्डिओलाले भने, ‘सायद उनी मेरो हृदयनजिक रहेको क्लब बार्सिलोनासँग अनुबन्ध गर्ने नजिक रहेका छन्। उनी अहिलेसम्मकै विश्वको उत्कृष्ट खेलाडीसँग खेल्न गइरहेका छन्। म निश्चित छु, उनी त्यहाँ रमाइलो मान्नेछन्। र सायद बार्सिलोना उनी मैदानमा हुँदा थप शक्तिशाली बन्नेछन्।’
यसअगाडि नै अगुएरो बार्सिलोनासँग छलफलमा रहेको कुरा सार्वजनिक भइसकेको थियो।
बार्सिलोनासँग दुई वर्षको सम्झौतामा हस्ताक्षर गर्न उनी सहमत भएको बेलायती अनलाइन गार्डियनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।