काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जना नेताले आफूहरूलाई सोधिएको स्पष्टीकरणको जवाफ दिएका छैनन्।
एमालेको जेठ ८ गतेको स्थायी कमिटी बैठकको निर्णय अनुसार सोधिएको स्पष्टीकरणको जवाफ नआएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए। उनीहरुलाई स्पष्टीकरणको लागि सोमबार बिहानसम्मको समय दिइएको थियो।
नेपाल लाइभसँग कुरा गर्दै तामाङले जवाफ नआएको बताए। उनका अनुसार, त्यस सम्बन्धमा आजै बस्ने स्थायी कमिटीले आवश्यक निर्णय लिनेछ।
आइतबार नै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टी विरोधी गतिविधि अति नै भएको भन्दै कारबाहीको संकेत गरेका थिए। बालुवाटारमा आयोजित आफूनिकटका पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले भनेका थिए- ‘हामीले स्पष्टीकरण सोधेका छौं। स्पष्टीकरण हेर्छौं। तदनुसार कारबाही अविलम्ब जे गर्नुपर्ने हो गर्छौं।‘
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २६ जनाले हस्ताक्षर गरेका थिए। तर, कतिपयले हस्ताक्षर दुरुपयोग भएको र कतिपयले माधव नेपाललाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भनेकाले ११ जनालाई मात्रै स्पष्टीकरण सोधिएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले ८ गतेको बैठकपछि पत्रकाहरुसँग भनेका थिए।
माधव नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, लक्ष्मीकुमारी चौधरी, कालिला खान र नीरादेवी जैरुलाई स्पष्टीकरण सोधिएको थियो। उनीहरू कसैले पनि जवाफ दिएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।