काठमाडौं– २२ राजनीतिक दलहरुले कात्तिक र मंसिर महिनामा मध्यावधि निर्वाचनको मिति घोषणा गरिनुको पछाडि ठूलै षड्यन्त्र लुकेको आरोप लगाएका छन्।
विज्ञहरुले कोरोना भाइरसको तेस्रो तेस्रो लहर आउने चेतावनी दिइरहेका बेला कात्तिक र मंसिरमा मध्यावधि चुनाव घोषणा गरिनुले यसको पछाडि ठूलै षड्यन्त्र रहेको बुझ्न सकिने २२ राजनीतिक दलहरुको आरोप छ।
नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा नेपाल, देशभक्त गणतान्त्रिक मोर्चा लगायत २२ राजनीतिक दलका तर्फबाट सोमबार एक विज्ञप्ती जारी गर्दै नेता सीपी गजुरेलले भनेका छन्, ‘विश्व स्वास्थ्य संगठन र स्वास्थ्य विशेषज्ञहरुले आगामी मंसिर र पुसमा महामारीको तेस्रो लहर आउन सक्ने र त्यो अहिलेको भन्दा पनि बढी क्षति पुर्याउने किसिमको हुने चेतावनी दिएकै समयमा कथित संसदीय निर्वाचनको मिति तोकिनुले यसपछाडि ठूलो षड्यन्त्र लुकेको छ भन्ने बुझ्न सकिन्छ।’
गजुरेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनताले चुनाव नभइ जीवनरक्षा चाहेको बताइएको छ।
‘यतिखेर हाम्रो आवश्यकता जीवनरक्षा हो, संसदीय निर्वाचन होइन। त्यसकारण, सम्पूर्ण राष्ट्रलाई नै यतिखेर जनताको जीवनरक्षामा केन्द्रित हुन हामी अपिल गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ।
मध्यावधि निर्वाचन घोषणा गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको ‘गलत निर्णय’ खारेज गर्न पनि २२ राजनीतिक दलको कार्यगत एकताको तर्फबाट माग गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।