जलेश्वर– महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भएको भिडन्तमा एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते भएका छन्।
मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयले तोडफोड गरेका छन्।
बोर्डर आउट पोष्ट (बिओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गए राति करिब ८ बजे ५०÷६० भारतीयले मदिरा खाएर एक्कासि २ नं बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुङ्गामुढा गरेका थिए। करीब आधा घण्टासम्म भारतीयहरुले गरेको ढुङ्गामुढाबाट ड्युटीमा खटेका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ। जवना ढकालले लगाएको पोशाक (चुस्ता) समेत आक्रमणकारीले च्यातिदिएका छन्।
सशस्त्र प्रहरीको लाठी चार्जबाट आठ भारतीय व्यापारी घाइते भएका छन् । उनीहरुले आफूहरु महिनाबारी (महिनामा एकै चोटी) रकम दिएर लाइन लिएकामा सशस्त्र जवानहरुले सीमामा रोकेर थप पैसा माग्न खोजेको र नदिँदा कुटपिट गरेको बताएका छन्।
त्यसैगरी स्थानीय प्रत्यक्षदर्शीहरुले पनि सशस्त्र प्रहरीले बल प्रयोग गरेको र भारतीय व्यापारीहरुलाई कुटपिट गर्न थालेपछि भारततर्फबाट एक हुल मानिस आएर सशस्त्र प्रहरीमाथि पनि ढुङ्गामुढा गरेको बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।