काठमाडाैं- च्याम्पियन म्यानचेस्टर सिटीले प्रिमियर लिग अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा फराकिलाे जित निकालेकाे छ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा सिटीले एभर्टनलाई ५-० गोल अन्तरले पराजित गरेको हो।
सिटीकाे जितमा सर्जियो अग्युरोले दुई गोल गरे। यस्तै, केभिन डी ब्रुएन, ग्राबियल जिसस र फिल फोडेनले एक एक गोल गरे।
अगुएरो दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए।
खेलको ११ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाए। १४ औं मिनेटमा जिससले गोल गर्दै सिटीको अग्रता दाेब्बर बनाए।
३७ औं मिनेटमा एभर्टनका गिल्फी सिगुर्डसनले पेनाल्टीमा गोल गर्न सकेनन्। उनको प्रहार सिटीका गोलकिपर एडर्सनले बचाए।
५३ औं मिनेटमा फोडेनले गोल गर्दै टिमको अग्रता ३-० को बनाए। ७१ औं मिनेटमा सिटीका लागि अन्तिम खेल खेलिरहेका अगुएरोले गोल गर्दै अग्रता ४-० मा पुर्याए।
७६ औं मिनेटमा अगुएरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५-० को जित दिलाए। यस गोलसँगै अग्युरोले सिटीका लागि १ सय ८४ औं गोल पूरा गरेका छन्।
फराकिलो जितसँगै सिटीले उपाधि ट्रफी समेत उचालेको छ। सिटीले यस सिजन ३८ खेलमा ८६ अंक जोड्यो।
एभर्टन भने ५९ अंक जोडेर दशौँ स्थानमा रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।