काठमाडौं- मानव स्वास्थ्यमा हानिकारक मिथानोल अल्कोहल अत्यधिक प्रयोग गरिएको दुई सेनिटाइजर कम्पनीमा प्रहरीले छापा मारेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको उत्सव डेट्रेरेजेन्ट एण्ड कस्मेटिक र महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुर इमाडोलमा रहेको पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा छापा मारेकाे हाे।
काठमाडौं परिसरका एसपी अशोक सिंहका अनुसार बालाजुको उक्त उद्योग र स्वयम्भूमा रहेको गोदामबाट ठूलो मात्रामा गुणस्तरहीन सेनिटाइजर बरामद भएको छ।
उद्योगका सञ्चालक राकेश अग्रवाललाई नियन्त्रणमा लिइएको छ। यता, महाशाखाले पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा छापा मारेर करिब ४० हजार लिटर गुणस्तरहीन सेनिटाइजर बरामद गरेको छ।
सेनिटाइजरमा २२ प्रतिशतसम्म मानव स्वास्थ्यका लागि हानिकारक मिथानोल अल्कोहल प्रयोग गरेको पाइएपछि छापा मारिएको एसपी कृष्ण पंगेनीले जानकारी दिए ।
सञ्चालक आशिष प्याकुरेललाई पनि पक्राउ गरिएको छ। उक्त कम्पनीको दर्तासमेत अहिलेसम्म नभेटिएको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।