फ्रान्सेली कला विशेषज्ञहरूले त्यहाँको एउटा कला संग्रहमा अंगार (कोइला)ले बनाइएको १ सय ५० वर्षभन्दा पुरानो नग्न स्केच फेला परेको बताएका छन्। उनीहरूले स्केच मोनालिसाको हुनसक्ने सम्भावना व्यक्त गरेका छन्।
कोइलाबाट बनाइएको रेखाचित्रमा एउटी निर्वस्त्र महिला छिन्, जसलाई मोना वानाका रुपमा चिनिन्छ। यसअघि यो चित्रको श्रेय लियोनार्डो दा भिन्ची स्टुडियोलाई दिने गरिन्थ्यो।
विशेषज्ञहरुसँग दुवै चित्र एउटै कलाकारले बनाएको भन्नका लागि पर्याप्त प्रमाण रहेको बताइन्छ।
पेरिसस्थित ल्युर संग्रहालयमा गरिएको परीक्षणपछि विशेषज्ञहरुले यो रेखाचित्र लियोनार्डो स्टुडियोकै भएको विश्वास गरेका छन्। यो सन् १८६२ मा इटलीमा पुनर्जागरण कालका बेला कोन्डे संग्रहालयको हो ।
दा भिन्ची (सन् १४५२–१५१९) इटलीको पुनर्जागरण कालका महान चित्रकार थिए। उनले बनाएको पेन्टिङ मोनालिसालाई विश्वको सर्वश्रेष्ठ चित्र मानिन्छ।
कला विशेषज्ञ म्याथ्यु डेल्डिकले कोइलाबाट बनाइएको चित्रमा अनुहार र हातको स्केचको स्तरीयता अत्यन्त उच्च रहेको बताए।
उनले भने, ‘चित्र कतै धमिलो छैन। दा भिन्चीको जीवनको अन्तिम समयताका उनको समानान्तर काम भइरहेको थियो कि भनेर हामी खोज गरिरहेका छौं।’
भिन्चीले बनाएको विश्वप्रसिद्ध मोनालिसा तैल चित्र (आयल पेन्टिङ) हो। यसलाई ला जिओकोन्डा पनि भनिन्छ। यसलाई विश्वकै सर्वाधिक मूल्यवान चित्र मानिन्छ।
इटालियन सहर फ्लोरेन्सका सरकारी अधिकारी र कपडा व्यापारी फ्रान्सेस्को डेल जिओकोन्डाले दा भिन्चीलाई आफ्नी पत्नी लिसा गेरार्डिर्नीको पोट्रेट बनाउन लगाएको विश्वास गरिन्छ। त्यसैले मोनालिसाको तैल चित्रलाई ला जिओकोन्डा भनिएको हो।
‘यो स्केच निश्चित रुपमा तैल चित्रको प्रारम्भिक तयारी हो,’ डेल्डिकले भने।
फ्रान्सको राजधानी पेरिसस्थित लुभ्र संग्रहालयका संरक्षण विशेषज्ञ ब्रुनो मटिनले पनि स्केच दा भिन्चीकै जीवनकालको भएको तथा १६ औं शताब्दीको सुरुताकाको भएको बताए।
उनले तैल चित्र र स्केचबीच हात तथा शरीर दुरुस्तै रहेको, दुवै पोट्रेटको आकार (साइज) र आकृतिको वरिपरिका सानासाना प्वालले यो पोट्रेटलाई क्यानभासमा ट्रेस गर्न प्रयोग गरिएको अनुमान गर्न सकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।