काठमाडौं- विश्व फुटबल महासंघ (फिफा)ले फुटबलकाे ढाँचा परिवर्तन गर्नकाे लागि अध्ययन गरिरहेको छ। प्रत्येक चार/चार वर्षमा आयोजना हुने प्रतियोगिता दुई/दुई वर्षमा गर्दा के हुन्छ? भनेर फिफाले अध्ययन सुरु गर्ने भएकाे छ।
७१औं भर्चुअल फिफा कंग्रेसपछि अध्यक्ष जियानी इन्फान्टिनो विश्वकपमा गरिन सकिने सम्भावित परिवर्तनहरूको बारेमा अध्ययन सुरु गर्न लागेको जानकारी दिए।
उनका अनुसार बैठकले प्रत्येक दुई वर्षमा विश्वकप आयोजना गर्नका लागि अध्ययन अनुमोदन गरेको छ।
‘यो फुटबललाई बढावा दिने एउटा तरिका हो, हामीले फुटबललाई उत्प्रेरित गर्न के गर्न सक्दछौं भनेर अध्ययन गर्नैपर्छ र हाम्रो खुला दिमाग हुनुपर्दछ,’ उनले भने।
अन्तर्राष्ट्रिय खेलहरुकाे तालिका नहेरी फिफाले प्रतियाेगिता सञ्चालन गर्न नसक्ने उनले तर्कसमेत गरे।
‘हामीले यो कसरी अन्तर्राष्ट्रिय पात्रोमा फिट हुन सक्छ र कसरी क्वालिफाइ खेलहरू आयोजना गर्न सक्छौं भनेर अध्ययन गर्नुपर्छ। फुटबल दर्शकहरु महत्त्वपूर्ण खेलहरू र प्रतियाेगिताहरु अझ बढी हेर्न चाहन्छन्। प्राथमिकता खेलकुदको हो, व्यावसायिक कुरा होइन,’ उनले भने।
विडम्बनाको कुरा इन्फान्टिनो साेच १२ युरोपियन सुपर लिगका संस्थापक क्लबहरूहरु मिल्दाेजुल्दाे देखिन्छ।
उनीहरुले फुटबलकाे बिकास गर्न उक्त परियाेजना अगाडि सारेका थिए। यद्यपि, फिफा र युराेपियन फुटबल संघले यसलाई अगाडि बढ्न दिएकाे थिएन।
फिफा र युराेपियन फुटबल संघले यी १२ क्लबकाे लक्ष्य अत्याधिक फाइदा कमाउने रहेकाे आराेप लगाएकाे थियाे। यद्यपि, फिफाकाे उद्देश्य पनि उस्तै देखिएकाे छ।
फिफाले जारी गरेको आधिकारिक तथ्यांक अनुसार सन् २०१४ मा ब्राजिलमा आयाेजना भएकाे विश्वकपबाट ८ अर्व ४० कराेड अमेरिकी डलर आम्दानी गरेकाे थियाे।
न्यूयोर्क टाइम्सले गरेको वित्तीय अनुसन्धान अनुसार २०१८ मारुसमा आयाेजना भएकाे विश्वकपमा फिफाले करिब ६ अर्ब अमेरिकी डलर कमाएकाे थियाे।
प्रत्येक दुई वर्षमा विश्वकप आयाेजना भए खेलहरु बढ्ने छन् र फिफाले यसबाट मुनाफा धेरै कमाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।