मोरङ- हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय, मोरङले तीन जनालाई पक्राउ गरेको छ।
बिहीबार दिउँसो मोरङको बिराटनगर महानगरपालिका ११ रोडषेस चोकबाट २१ लाखभन्दा बढी रकमसहित बिराटनगर १३ का २५ वर्षीय श्रवण साह र रंगेली नगरपालिका-१ की २५ वर्षीया जिज्ञासा चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे।
उनीहरुसँग सोधपुछ गर्ने क्रममा हुण्डी कारोबारबाट प्राप्त रकम रहेको खुल्न आएसँगै उक्त कार्यमा संग्लग्न बिराटनगर १३ का ३३ वर्षीय अमृतकुमार साह सुडीलाई समेत प्रहरीले पक्राउ गरेको हो।
साह र चौधरीको साथबाट प्रहरीले नेपाली रुपैयाँ २१ लाख ७१ हजार पाँच सय र भारतीय रुपैयाँ २३ हजार तथा बिभिन्न बैकका चेकहरु बरामद गरेको छ।
त्यस्तै, सुडीको घर कोठा खानतलासी गर्दा मोबाइल तथा नगद डिपोजिट रसिद बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय , इटहरी सुनसरी बुझाउने तयारी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।