रामेछाप– निर्माण व्यवसायीसमेत रहेका नेकपा एमालेका नेता रत्नप्रसाद गौतमले रामेछाप जिल्लामा एक हजार थान एन्टिजेन किट उपलब्ध गराएका छन्।
कोरोनाको दोस्रो लहरले प्रभावित रामेछापका स्थानीयको जाँचमा सहयोग पुर्याउने उद्देश्यले उनले जिल्ला अस्पताल मार्फत उक्त किट उपलब्ध गराएका हुन्।
उनले उपलब्ध गराएको किटमध्ये दुई सय थान जिल्ला अस्पताललाई, दुई सय थान प्राथमिक स्वास्थ केन्द्र मन्थलीलाई र बाँकी एक÷एक सयका दरले प्रत्येक पालिकामा बितरण गर्ने जानकारी जिल्ला अस्पताल रामेछापले जानकारी गराएको छ।
रामेछापका जनताले तामाकोसी अस्पतालमा पन्ध्र सय तिरेर कोरोना परीक्षण गर्दै आएका छन्। अब गौतमको सहयोगमा प्राप्त उक्त किटको मद्दतमा जनताले निःशुल्क कोरोना परीक्षण गर्न पाउने छन्।
यससँगै अब पन्ध्र मिनेटमा आफू कोरोनाबाट सङ्क्रमित छु छैन भन्ने थाहा पाउन सहयोग पुग्ने एमाले जिल्ला कमिटी सचिव पुरुषोत्तम कडरियाले बताए।
गौतमको यो सहयोगबाट जिल्लालाई ग्रीन जोन बनाउन जिल्ला कमिटीले चालेको कदमलाई सहयोग पुग्ने उनको भनाइ छ। उनले अरुलाई पनि यस्तै सहयता गर्न आग्रह गरे।
कडरियाले कोरोनाको कहरको प्रभावबाट जिल्लाबासीलाई जोगाउन कुनै कसर बाँकी नराख्ने बताए। उनले सबैलाई सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड कडाइका साथ पालन गर्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।