काठमाडाैं- स्पेनिस क्लब बार्सिलाेनाले बोरुसिया डर्टमुण्डका स्ट्राइकर इर्लिङ हाल्यान्ड अनुबन्ध गर्नका लागि आर्थिक रुपमा सबल नभएको जनाएकाे छ। याेसँगै बार्सिलाेना हाल्यान्डलाई भित्र्याउने हाेडबाट बाहिरिएकाे छ।
नर्वेजियन फरवार्ड हाल्यान्ड क्लब छाड्न चाहिरहेका छन्। केही दिन अगाडि मात्रै ब्राजिलका पूर्व फुटबलर रिभाल्डोले हाल्यान्ड भविष्यमा ठूला स्टार हुने बताएका थिए। उनले हाल्यान्ड कीर्तिमानी मूल्यमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट अन्य क्लबमा जाने पनि प्रक्षेपण गरेका थिए।
बार्सिलोनाका पूर्वस्टार रिभाल्डोले हाल्यान्डले थप उचाइका लागि ला लिगा रोज्नु पर्ने तर्क गरेका छन्। उनले हाल्यान्डसँग उच्च प्रतिभा भएको र एक दिन ब्राजिलियन रोनाल्डोको स्तरमा पुग्ने समेत बताए।
यस्तैमा गत अप्रिलमा, उनका बुबा अल्फ इन्गे हाल्यान्ड र उनका एजेन्ट मिनो राइओलाले बार्सिलाेनाका बाेर्ड सदस्यहरुसँग भेट गरेका थिए।
तर, बार्सिलोनाले हाल्यान्डलाई अनुबन्ध गर्नका लागि कम्तिमा एक सय ५० मिलियन यूरो जुटाउनुपर्ने बताइएको छ। यस्तैमा हालान्डको तलबमा बार्सिलोनाले तिर्न नसक्ने अर्थात ‘अफोर्ड’ गर्न नसक्ने बताएको छ।
हाल्यान्डलाई ल्याउनुको सट्टा कप्तान लिओनल मेसीलाई क्लबमा नै राख्न प्रयास भइरहेको जनाएको छ।
यदि उनी अरु कुनै क्लबमा नगएको खण्डमा यो समरमा हाल्यान्डलाई ल्याउन नसकेपनि अर्को वर्षको अन्तिममा भित्र्याउने बार्सिलोनाको चाहना छ। बार्सिलाेनाले हाल्यान्डलाई भित्र्याउन जेरार्ड पिके, सर्जियो बुस्केट्स, सर्जी रोबर्टो, जोर्डी अल्बा वा एन्टोयिनो ग्रिजमान बेच्न पर्ने हुन्छ।
यता, हाल्यान्डलाई भित्र्याउन म्याचेनस्टर सिटीले इच्छुक देखिएकाे छ।
१९ वर्षीय नर्वेजियन स्ट्राइकर हाल्यान्ड गत जनावरीमा १७.१ मिलियन पाउन्डमा अस्ट्रियन क्लब साल्जवर्गबाट डर्टमुन्डमा आबद्ध भएका भएका थिए। त्यसयता उनले डर्टमुन्डबाट १२ खेल खेल्दा १३ गोल गरे।
उनले सिजनको सुरुवातमा साल्जवर्गका लागि २२ खेलबाट २८ गोल गरेका थिए। जसमा पाँच ह्याट्रिक समावेश छन्। सिजनको सुरुमा साल्जवर्गका लागि खेल्दा उनले च्याम्पियन्स लिगमा पनि ह्याट्रिक गरेका थिए। त्यसपछि हाल्यान्डलाई भित्र्याउन इटालियन क्लब युभेन्ट्स र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पनि चासो देखाएका थिए।
उनले यस सिजनको च्याम्पियन्स लिगको समूह चरणमा ८ गोल गरेका थिए। जुन गोल समूह चरणको व्यक्तिगत दोस्रो बढी हो। युभेन्ट्स र म्यानचेस्टरलाई पछि पारेर डर्टमुन्ड उनलाई भित्र्याउन सफल भयो। अझै उनको माग विश्व फुटबल बजारमा बढिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।