काठमाडौं– एसियाली फुटबल महासंघ (एएफसी) ले एन्फा कम्प्लेक्स सातदोबाटोमा रहेको मैदानको प्याराफिट र फ्लडलाइट निर्माणका लागि १ लाख ३० हजार डलर (१ करोड ४० लाख रुपैयाँ) दिने प्रक्रिया थालेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधार र एएफसीका विकास निर्देशकले सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन्। एफएफसीको मलेसियास्थित क्वालालम्पुरमा रहेको मुख्यालयमा सम्झौतापत्रा हस्तक्षर भएको हो।
मलेसियामा रहेका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार प्याराफिट र फ्लडलाइ आगामी डिसेम्बरसम्म निर्माण सकिसक्नु पर्नेछ। 'एन्फा कम्प्लेम्समा रहेको मैदानमा प्याराफिट बनाउने र फ्लडलाइट राख्ने सम्झौतामा हस्ताक्षर भएको छ। हामी निर्धारित समयमा निर्माण पूरा गर्छौं,' मलेसियाबाट शेर्पाले टेलिफोनमा भने, 'नेपाली फुटबलको विकासका लागि विभिन्न पक्षमा एएफसीका उच्च पदस्थ पदाधिकारीसँग छलफल भयो।'
त्यसअघि शेर्पासहित मलेसिया पुगेको एन्फा प्रतिनिधिमन्डलले एएफसीका महासचिव डाटो विन्सर जोनलाई एएफसी मुख्यालयमा भेट गरेको थियो। नेपाली प्रतिनिधिमन्डलमा शेर्पासहित उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव तुलाधर छन्।
भेटका दौरान एएफसी महासचिव जोनले एन्फा प्रतिनिधिमण्डलाई भेट्न पाउँदा खुसी लागेको बताए। 'एएफसी साउथ जोनमा नेपाल महत्वपूर्ण सदस्य हो। सन् १९७१ देखि सदस्य रहेको एन्फालाई फुटबल विकासका लागि सहयोग गर्न तयार छौं,' महासचिव जोनले भने। उनले एन्फाले लिगको मिति घोषणा गरेकोमा पनि खुसी व्यक्त गरे। यस्तै ग्रासरुट फुटबलका साथै खेलाडी, प्रशिक्षक र रेफ्रीका लागि प्राविधिक सहयोग गर्न पनि एएफसी तयार रहेको उनले बताए।
जवाफमा एन्फा अध्यक्ष शेर्पाले एन्फाले ठूलो चुनौतीको सामना गरिरहेको बताएका थिए। साथै शेर्पाले एएफसीबाट ग्रासरुट तथा अन्य प्राविधिक सहयोगको आशा रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।