काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा यसअघि अनुमान गरिएअनुसारको आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुने जनाएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
कोभिड-१९ को पहिलो लहरको संक्रमण कम हुँदै गएकोले बन्दाबन्दी क्रमशः खुकुलो गर्दै पूर्णरुपले हटाइएकोले अधिकांश आर्थिक गतिविधिहरु चलायमान हुन थालेका थिए। यसै परिप्रेक्ष्यलाई मध्यनजर राखेर केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर चार प्रतिशत रहने अनुमान गरेको थियो। तर, कोभिड-१९ महामारीका कारण शिथिल भएको अर्थतन्त्र पूर्णरुपमा पुनरुत्थान हुन नपाउँदै यसको दोस्रो लहरले अर्थतन्त्र प्रभावित हुन गई अनुमानित आर्थिक वृद्धि हासिल गर्नसमेत कठिन हुने देखिएको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको नाै महिनासम्ममा मुद्रास्फीति नियन्त्रित र शोधनान्तर स्थिति बचतमा रहेको जनाएको छ। बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह बढ्नुका साथै कर्जाको ब्याजदरमा अपेक्षित रुपमा कमी आएको प्रतिवेदनमा उल्लेख छ।
‘पुनर्कर्जा तथा सहुलियतपूर्ण कर्जाको उपयोग बढेको छ। वित्तीय पहुँच बढ्नुका साथै विद्युतीय भुक्तानी कारोबार उल्लेख्य विस्तार भएको छ। पुँजीबजारमा नेप्से सूचकांक र बजार पुँजीकरण दुवै उल्लेख्य रुपमा बढेको छ,’ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनमा भनिएको छ।
विकसित देशहरुलगायत धेरै देशमा कोभिड-१९ विरुद्ध खोप लगाउन सुरु भएको र आर्थिक पुनरुत्थानका लागि खुकुलो वित्त एवं मौद्रिक नीति अवलम्बन गरेका कारण विश्व अर्थतन्त्र पुनरुत्थानतर्फ अघि बढेको प्रतिवेदनमा उल्लेख छ।
सन् २०२० मा ३.३ प्रतिशतले संकुचनमा गएको विश्व अर्थतन्त्र सन् २०२१ मा छ प्रतिशतसम्मले विस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ। विश्व अर्थतन्त्रको विस्तारसँगै समग्र माग पक्षमा आएको सुधारले मुद्रास्फीतिमा भने सामान्य चाप पर्ने राष्ट्र बैंकले जनाएको छ।
आर्थिक वर्ष २०७६/७७ मा नेपालको अर्थतन्त्र २.१ प्रतिशतले संकुचन भएकोमा चालु आर्थिक वर्ष ४.० प्रतिशतले विस्तार हुने केन्द्रीय तथ्यांक विभागकको प्रारम्भिक अनुमान रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।