काठमाडाैं- बार्सिलोना स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएकाे सेल्टा डि भिगोबिरुद्धकाे खेलमा पराजित हुँदै उपाधि होडबाट बाहिरिएको छ।
लिगको शीर्ष दुई टोलीले जित निकालेको दिन बार्सिलोनाले घरेलु मैदानमा क्याप नाउमा हार बेहोरेपछि उपाधि होडबाट बाहिरिएको हो। बार्सिलोना शीर्षस्थानको एट्लेटिको मड्रिडसँग ७ अंकले तथा दोस्रो स्थानको रियल मड्रिडसँग ५ अंकले पछि परेको छ।
ला लिगामा अन्तिम चरणको खेल बाँकी रहँदा बार्सिलोनोले ७६ अंक जोड्यो। एट्लेटिकोको ८३ तथा रियलको ८१ अंक छ।
याेसँगै बार्सिलाेनाकाे नेतृत्व गरिरहेका रोनाल्ड कोम्यानको भविष्य अन्याैलमा परेकाे छ। लिगकाे अन्ततिर उनकाे बार्सिलाेनाले ग्रान्डा र सेल्टाबिरूद्ध लज्जास्पद हार व्यहाेरेकाे थियाे। यस्तै, एट्लेटिको र लेभान्तेसँग बराबरी नतिजा निकाल्दा बार्सिलाेना उपाधि हाेडबाट बाहिरिसकेकाे थियाे।
क्लबमा अर्को सिजन कोम्यानलाई राख्ने कि नराख्ने भन्ने विषयमा चर्चा हुन थालेकाे छ। क्याटलान वकिल तथा अध्यक्षय जोआन लापोर्टा र नयाँ बार्सिलोना बोर्डबीच कोम्यानलाई राख्ने नराख्ने विषयमा कुरा भइरहेकाे जनाइएकाे छ।
तर, अन्तिम अन्तर्राष्ट्रिय ब्रेकपछि टोलीको खराब प्रदर्शनले कोम्यानको पद नै खतरामा पारेको छ। यद्यपि, कोम्यानले हिजाे भएकाे खेलमा टाेलीले राम्राे खेलेकाे प्रतिकृया दिएका छन्।
‘यदि पहिलो हाफमा हामीले एकभन्दा बढी गोल गर्नुपर्ने थियो। हामीले राम्रो खेल्यौं , मौका पनि पायौं, ‘उनले भने, ‘त्यो हामीलाई मानसिक रुपमा दबाब थियो। दोस्रो हाफ हाम्रो राम्रो भएन। अन्तमा पराजित भयौं। यदि भाग्यले साथ दिएन।’
यद्यपि, उनलेआफ्नो भविष्यका विषयमा भने टिप्पणी गर्न चाहेनन्। ‘म यो विषयमा जवाफमा दिन्न। मैले हिजै यो भनिसकेको छु,’ उनले भने, ‘म फेरि त्यहि कुरा दोहोराउन चाहन्न।’
अबकाे बिकल्प
कोम्यानले पछिल्लो खेलपछि बोल्दै आफ्नो भविष्यबारे प्रश्न उठ्नु स्वभाविक रहेको बताएका थिए। उनलाई थाहा छ उनकाे भविष्य लापोर्टाकाे हातमा रहेकाे छ। उनकाे अन्तिम निर्णयले नै कोम्यान क्लबमा रहने वा नरहने टुंगाे लाग्ने छ।
बिहीबारको बैठकमा काेम्यान र लापाेर्टाेबीच सिजनकाे समाप्तिपछि परिस्थितिलाई मूल्यांकन गरेर अगाडि बढ्ने सहमति भएकाे बताइन्छ। तर, सुखद् सिजनकाे अन्त्य नहुँदा काेम्यानलाई राम्ररी थाहा छ, बार्सिलोनामा रहन अब असम्भव छ। यद्यपि, उनले अर्को सिजनमा केही खेलाडीहरू ल्याउन सकेमा बार्सिलाेनाले राख्ने बताइन्छ।
सिजनको अन्त्यसँगै कप्तान लिओनल मेसीको अहिलेको सम्झौता टुंगिनेछ। उनकाे स्थानलाई परिपूर्ति गर्ने खेलाडीकाे बार्सिलाेनालाई खाँचाे छ। यद्यपि, कोम्यानले मेसीले निरन्तरता दिने आशा राखेका छन्।
‘हामीलाई आशा छ मेसीले छाड्ने छैनन्। उनी अहिले पनि विश्वका उत्कृष्ट खेलाडी हुन्। उनीविना खेल्न असम्भव छ,’ उनले भने।
कोम्यान क्लबबाट विदा भएपछि नयाँ प्रशिक्षक काे बन्छन् भन्ने पनि प्रश्न उठ्न थालेकाे छ। धेरैकाे आश अबकाे पूर्वखेलाडी तथा पूर्वकप्तान जाभिमाथि रहेकाे छ।
पूर्वखेलाडी समेत रहेका जाभिलाई स्पेनिस सुपर कपको सेमिफाइनलमा बार्सिलोना हारेपछि प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको बिकल्पमा हेरिएकाे थियाे।
यस्तै, बार्सिलोनाका बि टिमका प्रशिक्षक फ्रान्सिस्को जाभियर फ्रान्सिस्को जाभियरले पनि अब टाेलीकाे नेतृत्व लिनसक्ने बताइएकाे छ।
यता, लिभरपुललाई च्याम्पियन्स लिगकाे उपाधि जिताइसकेका प्रशिक्षक योर्गेन क्लोपलाई पनि बार्सिलाेनाकाे अबकाे प्रशिक्षककाे रुपमा हेरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।