काठमाडाैं- प्रेस काउन्सिल नेपालले प्रेस पास र ज्याकेटको दुरुपयोग गर्ने गैरपत्रकारलाई कारवाही गर्ने चेतावनी दिएको छ।
प्रेस काउन्सिल नेपालका प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले लकडाउनको अवधिमा प्रेस पास र प्रेस ज्याकेटको दुरुपयोग बढेकाे भन्दै कारवाही गर्ने चेतावनी दिएका हुन्।
'केही गैरपत्रकार व्यक्तिले नक्कली प्रेस पास र नक्कली ज्याकेट प्रयोग गरेर समाजमा भ्रम छरिरहेका समाचारहरु आउन थालेका छन्,' विज्ञप्तिमा भनिएको छ, 'नक्कली प्रेस पास र आफ्नै ढंगको प्रेस ज्याकेट बनाएर त्यसको आवरणमा विभिन्न आपराधिक क्रियाकलाप गर्दै व्यावसायिक पत्रकारिताको हुर्मत लिनेहरूलाई यस्तो गलत कार्य नगर्न प्रेस काउन्सिल नेपाल चेतावनी दिन चाहन्छ।'
यदि यस्ता गतिविधि नरोकिए, प्रेस पास र प्रेस ज्याकेटको दुरुपयोग गरी गैरपेशागत कार्य गरेको पाइएमा काउन्सिल कडा कारवाही गर्न बाध्य हुने जनाइएकाे छ।
विज्ञप्तिमा भनिएको छ, 'यदि यस्ता गतिविधि नरोकिएमा र प्रेस पास र प्रेस ज्याकेटको दुरुपयोग गरी गैरपेशागत कार्य गरेको पाइएमा काउन्सिल कडा कारवाही गर्न बाध्य हुने हुँदा यस्तो कार्य नगर्न नगराउन यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ।'
साथै नेपाल पत्रकार महासंघ, सूचना तथा प्रसारण विभाग र सम्पूर्ण व्यावसायिक पत्रकारलाई पनि यस विषयमा गम्भीर हुन पनि विज्ञप्तिमा आग्रह गरिएकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।