सुर्खेत- शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही–११ कर्णाली प्रिमियर लिग (केपिएल) को फाइनल प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा मध्यपश्चिम क्रिकेट क्लबलाई २६ रनले हराउँदै गर्दै रुपन्देही केपीएलको पहिलो सिजनको उपाधि नजिक पुगेको हो।
टस जितेर मध्यपश्चिमले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको रुपन्देहीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन जोड्यो। उसका लागि सन्दीप सुनारले ५०, बसिर अहमदले ४६, शंकर रानाले ३५ र निश्चल चौधरीले २२ रनको योगदान दिए।
बलिङतर्फ मध्यपश्चिमका अमरसिंह रौतेलाले ४ ओभरमा ३२ रन दिएर ३ विकेट लिए। यस्तै, अविनाश बोहोराले २ तथा बसन्त रेग्मी र सुनिल सुनारले १/१ विकेट लिए।
१ सय ७३ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको मध्यपश्चिम २० ओभर खेल्दै १ सय ४६ रनमा अलआउट हुन पुग्यो। उसका लागि कप्तान सुवेन्दु पाण्डेले सर्वाधिक ४५ रन जोडे। त्यस्तै, प्रनित थापाले २०, सिद्धान्तराज शाहीले १९ र आकाश विष्टले १२ रन बनाएका थिए।
बलिङतर्फ रुपन्देहीका विकास श्रेष्ठ र सन्दीप सुनारले ३/३ तथा विक्रम भुसालले २, शक्ति गौचन र कृष्ण कार्कीले १/१ विकेट लिए। रुपन्देहीका सन्दीप सुनार म्यान अफ दि म्याच भए।
प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको रुपन्देहीले त्रिभुवन आर्मी क्लब र धनगढी क्रिकेट क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।