काठमाडौं- काठमाडौं रेजर्सले पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को उपाधि हात पारेकाे छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा खेलमा धनगढी सिटी एफसीलाई १-० ले पराजित गर्दै काठमाडौंले उपाधि हात पारेकाे हाे।
प्रतिस्पर्धात्मक बनेको खेलमा काठमाडौंले पहिलाे हाफमा गोल गर्दै अग्रता लिएको हो। विशाल राईबाट बल खोस्दै विश्वास श्रेष्ठले दिएको पासमा मेसौके ओलुमोउले २१औं मिनेटमा गाेल गरेका हुन्। जारी लिगमा उनको यो आठौं गोल हो।
४५औं मिनेटमा तेज तामाङको पासमा मेसौके ओलुमोउले गरेको प्रहार आकासिदा काठमाडौं अग्रता लिनबाट चुक्यो।
४६औं मिनेटमा निशान खड्काको क्रसलाई गोलरक्षक विकेश कुथुले नियन्त्रणमा नसकेको बललाई बुद्ध बल तामाङले प्रहार गरेपनि फ्लोरेन्ट कोरालाई लाग्दै फर्किदा धनगढी बराबरीबाट चुक्यो।
५५औं मिनेटमा अशोक खवासले पोस्टमै गरेको प्रहारलाई गोलरक्षक विकेशले पञ्च गर्दै बचाए। ६५औं मिनेटमा विश्वास श्रेष्ठकै पासमा स्टेफन विनोङ समिरले फ्रान्कलिन कुटे टाल्लालाई बिट गर्दै गरेको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले बचाए।
७४औं मिनेटमा मेसौके ओलुमोउको फ्रिकिक क्रसबारमा लागेर फर्किएकाे थियाे। इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोलरक्षक किरण अगाडि बढेर खेलेका थिए।
उक्त समयमा स्टेफन समिरले मैदानको मध्यभागबाट गरेको प्रहार सदुपयोग हुन सकेन।
प्रतियोगिताको उपाधिसँगै काठमाडाैंले ३५ लाख रुपैयाँ हात पारेकाे छ। उपविजेता धनगढीले १५ लाख रुपैयाँ चित्त बुझायाे।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा ११ वैशाखबाट शुरु भएको एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको थियो।
एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले सहभागिता जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।