काठमाडौं– अमेरिकामा रहेका नेपालीहरुलाई यतिबेला चुनाव लागेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को आसन्न निर्वाचनका उम्मेदवारहरु प्रचार अभियानमा व्यस्त छ।
यसैबीच एनआरएन अमेरिकाको एनसीसीको महासचिवका लागि दोलखा घर भई नर्थ क्यारोलिना बस्दै आएका नवराज सुवेदीले प्रचार अभियान तीव्र बनाएका छन्। तीन बुँदे मुख्य एजेण्डा घोषणा गर्दै प्रचारमा अभियानमा सक्रिय महासचिव पदका प्रत्याशी सुवेदी आफू निर्वाचित भए एनआरएनको गरिमा बढाउनेगरी काम गर्ने बताउँछन्।
“मेरो उम्मेदवारी अमेरिकामा रहेका नेपालीहरुलाई साझा हितका लागि गोलबन्द गर्न, एनआरएन अमेरिकालाई राजनीतिक प्रतिशोधमुक्त र पारदर्शी बनाउनका लागि हो । यो एजेण्डा सबैको साझा भएकोले सबैले सहयोग गर्नेमा विश्वस्त छु”, सुवेदीले भनेका छन्। उनले अमेरिकामा स्थायी बसोबास अनुमति प्राप्त गर्ने सबै नेपालीले स्वतः एनआरएनको सदस्यता प्राप्त गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।
एनआरएनमा राजनीतिक आस्थाका आधारमा बढेको विभाजनले संस्थालाई कमजोर बनाउँदै लगेको भन्दै सुवेदीले एकताबद्ध एनआरएन बनाउन महासचिवका रुपमा भूमिका निर्वाह गर्न आफू आतुर रहेको बताए।
अमेरिका पुग्ने नेपालीलाई प्रारम्भिक दिनमा पर्ने समस्या समाधानमा आफूले विशेष जोड दिने भन्दै सुवेदीले अमेरिकाका ५० वटै राज्यमा संगठन विस्तार गर्ने र सामाजिक कार्यलाई पनि तीव्रता दिने बताए।
आफू महासचिव भएपछि हरेक महिनाको पहिलो शनिबार संस्थाका कामकारवाहीबारे सार्वजनिक सुनुवाई गर्ने सुवेदीको योजना छ । “महासचिव भएपछि २ वर्षे कार्यकालको पूर्ण कार्यतालिका पहिले नै सार्वजनिक गरेर काम गर्छु । एनआरएन अमेरिकालाइृ प्रभावकारी बनाउन सबै नेपाली दाजुभाईको सल्लाह सुझाव समेटेर अगाडि बढ्छु”, सुवेदी भन्छन् ।
अमेरिकामा रहेरपनि नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएका सुवेदीले दोलखाको भीमेश्वरमा संग्रहालय निर्माणमा विशेष सहयोग गरेका छन् । त्यस्तै शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सुवेदीले आर्थिक तथा सामाजिक सहयोग गर्दै आएका छन् ।
एनआरएन अमेरिकाको महासचिव बनेमा अमेरिकामा रहेका नेपालीहरुलाई मातृभूमिमा सामाजिक कार्य गर्न संस्थागत रुपमै प्रोत्साहन गर्ने सुवेदीको योजना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।