काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच वार्ता हुँदैछ। वार्ता केहीबेरपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुरु हुनेछ।
वार्ताका लागि नेपाल पक्षका नेताहरू सिंहदरबार पुगिसकेका छन्। नेता नेपालसहित सुरेन्द्र पाण्डे, गोकर्ण विस्ट, घनश्याम भुसाल र रघुजी पन्त सिंहदरबार पुगिसकेका छन्।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र उनी पक्षका नेताहरू भने आउने क्रम जारी छ। ओली आइपुगिसकेका छैनन्।
एमालेमा चुलिएको संकट अचानक संवादतर्फ उन्मुख भएपछि दुवै पक्षका शीर्ष नेताहरुसहितको वार्ता हुन लागेको हो।
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन र पुनः प्रधानमन्त्री बन्नबाट रोक्न सामूहिक राजीनामा दिने निर्क्योलमा पुगेको नेपाल पक्ष बिहीबारदेखि त्यसलाई स्थगन गरेर संवादतर्फ अघि बढेको छ। ओली र एमाले वरिष्ठ नेता नेपालबीच बिहीबार भएको तीन घण्टा लामो वार्ताले परिस्थिति संवादतर्फ मोडेको थियो।
ओली र नेपालबीच बिहीबार पार्टीभित्रका समस्या समाधानका लागि कार्यदल गठन गर्ने सहमति भएको थियो। कार्यदल बन्न बाँकी नै रहेका बेला शीर्ष नेताहरु वार्तामा जुटेका हुन्।
वार्तामा एमाले अध्यक्ष ओलीसँगै उनी पक्षबाट स्थायी कमिटी सदस्यहरु विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी हुने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।