काठमाडाैं- युइएफए च्याम्पियन्स लिगको यो सिजनको फाइनल खेल पोर्चुगलमा हुने भएको छ। काेराेनाकाे दोस्रो लहरका कारण टर्कीलाई इंग्ल्यान्ड सरकारले रेड जोनमा राखेपछि फाइनल खेल पोर्चुगलमा सारिएको हो।
दुई इङ्लिस क्लब चेल्सी र म्यानचेष्टर सिटीबीचको फाइनल खेल यही मे २९ मा टर्कीको स्तानबुलस्थित अटाटुर्क ओलम्पिक स्टेडियममा हुने तय भएको थियो।
तर, कोरोना भाइरस संक्रमणका कारण उक्त खेल पोर्चुगलको पोर्टोमा सारिएको युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले जनाएको छ ।
अघिल्लो सिजन पनि टर्कीको इस्तानबुलमै हुने भनिएको फाइनल पोर्चुगलमा सारिएको थियो।
युइएफएले ब्रोडकास्टर्स र युइएफएका पदाधिकारीलाई बेलायत प्रवेश गर्दा क्वारेन्टिनको समयसिमा घटाउन माग गरेका थिए।
उनीहरुले अन्य खेल प्रभावित हुने भन्दै १० दिनकाे समयसिमा माग गरेका थिए। तर, त्यो शर्तलाई बेलायत सरकारले अस्वीकार गरेपछि फाइनल पोर्चुगलमा सारिएको हो।
पोर्चुगल इंग्ल्याण्डको ग्रीन जोनमा रहेको छ। पोर्चुगलमा बेलायती समर्थक जान सहज हुनेपनि बताइएको छ। फाइनल खेल अब पोर्टोस्थित स्टाडिओ डो ड्रागाओमा खेलाइनेछ।
फाइनलका लागि चेल्सी र म्यानचेस्टर सिटीले ६ हजारसम्म टिकट पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।