प्रतिकात्मक तस्वीर
टीकापुर– बुधबार राति आएको हावाहुरीका कारण रुख ढलेर च्यापिँदा कैलालीमा १ जना महिलाको मृत्यु भएको छ। बुधबार राति वर्षासँगै आएको हुरीका कारण ढलेको रुखले च्यापिएर घरमै रहेकी महिलाको मृत्यु भएको हो।
मृत्यु हुनेमा जिल्लाको टीकापुर नगरपालिका– १ एकतानगर शिविरकी ४० बर्षीया देउकला कामी रहेकी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक भरतबहादुर चौधरीले जानकारी दिए। हावाहुरीले कच्ची घरमाथि रुख ढल्दा च्यापिएर निज कामीको मृत्यु भएको हो।
यस्तै हावाहुरीले कैलारी गाउँपालिका– ५ का अंकित बोहराको दुई कोठे एक तले टिनले छाएको घरको छाना उडाई घरभित्र रहेको अन्नपात, टीभी, फंखामा क्षति भई अन्दाजी रु. ७० हजार बरावरको क्षति भएको छ। चौपाया तथा मानविय क्षति भने नभएको बताइएको छ।
हावाहुरीले कैलालीको घोडाघोडी नगरपालिका– २ साँढेपानी बस्ने कनकबहादुर रोकायाको घरमा चट्याङ्गले बिद्युतको मिटरबक्स, वाईरिङ, तारहरु जलेर नष्ट भएको छ।
प्रहरी नायव उपरीक्षक चौधरीका अनुसार हावाहुरीले जिल्लाका विभिन्न स्थानका घर, गोठ तथा सडकमा रहेका विद्युतका पोलमा क्षति गरेको छ।
बुधबार राति आएको हावाहुरीले जिल्लामा के कति क्षति भएको छ भन्ने विषयमा अझै बिस्तृत विवरण आउँन बाँकी रहेको प्रहरी नायव उपरीक्षक चौधरीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।