काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरमा अक्सिन अभाव भएपछि संक्रमितको उपचारमा समस्या आएको छ।
अक्सिजन अभावले उपचारमा समस्या आएसँगै ट्रमा सेन्टरका निमित्त निर्देशक सन्तोष पौडेलले सहयोगका लागि याचना गरिरहेका छन्।
उनले सामाजिक सञ्जाल मार्फत सेनटरमा १०५ जना गम्भीर किसिमका कोभिड–१९ बिरामीको उपचार भइरहेको अवस्थामा अक्सिजनाको चरम अभाव भएको लेखेका थिए। बुधबार रातभर थामिएको भएपनि अब समस्या भएको उनको भनाइ थियो।
बिहीबार ट्रमा सेन्टर परिसर पुग्दा पौडेल अक्सिजनकै लागि दौडधुपमा थिए। उनी फोन गरिरहेका थिए र अक्सिजन खोजिरहेका थिए।
एक दुई थान अक्सिजन आउँदा उनीसहितको टिम उक्त अक्सिजनलाई अर्कोमा पनि बाँडेर व्यवस्थापन गर्न खोजिरहेका थिए।
हिजोदेखि लगातार अक्सिजन खोज्न पौडेलसहितको टिम लागिरहेको थियो। बिहीबार बिहान केही थान अक्सिजन आएको भएपनि त्यो पर्याप्त भने छैन।
केही थान अक्सिजन आउँदा वरिपरि बिरामीका आफन्तहरु अक्सिजन माग गर्दै आइरहेका हुन्छन्। सरकारले तोकिदिएको कोटाको अक्सिजन आइपुग्दा बिहीबार विहान ट्रमा सेन्टरमा चिकित्सक, नर्स, कर्मचारी र बिरामीका आफन्तहरुको दौडधूप देखियो।
पर्याप्त मात्रामा अक्सिन नआएपनि गम्भीर प्रकृतिका बिरामीका लागि केही घन्टालाई त्यसले भरथेग गर्ने भएपनि त्यसपछि के हुन्छ भन्ने अन्योल छ।
बिरामीका आफन्तले सरकारसँग तत्काल अक्सिजनको व्यवस्थापन गरिदिन आग्रह गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।