काठमाडौं– अतिरिक्त समयमा पुनरागमन गर्दै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा काठमाडौं रेजर्सलाई २-१ले हराउँदै धनगढी उपाधि नजिक पुगेको हो।
निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो।
बराबरी उन्मुख खेलको १०८औं मिनेटमा धनगढीले अग्रता बनायो। धनगढीका लागि डिफेन्डर रमेश दंगालले हेडरमार्फत् मिलाइएको पासमा विशाल राईले गोल गरे।
दंगाल १०५औं मिनेटमा ओलावाले ओलाडिपो अफिजको स्थानमा मैदान छिरेका थिए। यही गोलमार्फत् धनगढीले उपाधि यात्रा रक्षा गरेको हो।
यसअगाडि खेलको ७५औं मिनेटमा तेज तामाङले गोल गर्दै काठमाडौंलाई १–० को अग्रता दिलाएका थिए। मेसौके ओलुमोउको क्रसमा अनमार्कमा रहेका तेजले हेडमार्फत् गोल गरेका थिए।
तर, धनगढीले त्यसको तीन मिनेटमा नै बराबरी गोल फर्कायो। ७८औं मिनेटमा पुजन उपरकोटीले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
निशान लिम्बुको कर्नरलाई गोलरक्षक विकेश कुथुले पञ्च गरेपनि क्लियर हुन नसकेको बललाई पुजनले हेड किकमार्फत गोलमा परिणत गरेका थिए।
प्लेअफको पहिलो खेलमा पराजित भएपनि काठमाडौंले फाइनल प्रवेशका लागि अर्को अवसर भने पाउनेछ।
काठमाडौंले अब ललितपुर र बुटवल लुम्बिनीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि वैशाख ३० मा खेल्ने।
विजेताले उपाधिको लागि धनगढीसँग जेठ १ मा खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।