काठमाडौं- नेकपा एमालेको माधव कुमार नेपाल पक्षले सांसदबाट राजीनामा नदिने निर्णय गरेको छ। सोमबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको नेपाल पक्षको बैठकले सांसदबाट राजीनामा नदिने बरु बैठकमा उपस्थित नहुने निर्णय गरेको सांसद राजबहादुर बुढाले बताए।
ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउनु भएको भन्दै नेता भीम रावलले आफूहरुले आजको प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको बताए। 'ओलीलाई विश्वासको मत दिनु भनेको सर्वथा लोकतान्त्रिक दृष्टिकोणले लोकतन्त्रलाई कमजोर तुल्याउने, राजनीतिक नैतिकताको दृष्टिकोणले राजनीतिक नैतिकतालाई ध्वस्त गर्ने र यो देशको राजनीतिक स्थायित्व हामी नेपाली जनताको स्वाभिमान, स्वाधिनताको दृष्टिकोणबाट देश र राज्यलाई कमजोर तुल्याउनु हुने हुँदा हामीले आजको प्रतिनिधि सभाको बैठक, जुन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानका धाराहरुको अपव्याख्या गरेर विश्वासको मत लिने भनेर उहाँले बोलाउन लगाउनुभएको थियो। त्यो बैठकमा अनुपस्थित हुने निर्णय गरेका छौं’, रावलले भने।
ओलीलाई विश्वासको मत दिइनुहुन्न र उहाँले प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने आफूहरुको स्पष्ट धारणा रहेको रावलले बताए।
यसअघि यो समूहले सामूहिक राजीनामा दिने चर्चा गरिएको थियो। तर ओलीले विश्वासको मत माग्नुभएको हुनाले उहाँलाई मत नदिँदा नै अहिलेलाई पर्याप्त हुने निष्कर्षमा आफूहरु पुगेको रावलले बताए।
उनीहरूले पार्टी एकताका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कुनै पहल, प्रयत्न नगरेको र आफूहरूको तर्फबाट गरिएको सबै प्रयास असफल भएको बताएका थिए।
प्रधानमन्त्री ओलीले सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।