महेन्द्रनगर– कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरिरहँदा भारतसित सिमाना जोडिएको कञ्चनपुरमा भने लागूऔषधको कारोबार रोकिएको छैन। पछिल्लो दुई दिनमा प्रहरीले खैरो हिरोइनसहित चार युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना भारतीय रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीले दुई बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत सीमा स्तम्भ नजिक १२ ग्राम ६३० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित दुई भारतीय युवकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश टाटरगन्ज तहसिल पुरनपुर थाना हजाराका १६ वर्षीय कृष्ण सिंह र २५ वर्षीय राजेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी, दोधारा चाँदनीबाट पनि स्थानीयवासी ३३ वर्षीय प्रेमदत्त भट्ट र वेदकोट नगरपालिका–२ का ३२ वर्षीय केशव खत्रीलाई खैरो हिरोइनसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक भरत गिरीले बताए। अभियुक्तहरुका साथबाट १४.६९ ग्राम खैरो हिरोइनसमेत बरामद गरेको उनले जानकारी दिए।
पक्राउ परेका अभियुक्तलाई मुद्दा चलाएर कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।