काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का सांसदहरूलाई पार्टी कार्यालय बबरमहल बोलाइएको छ। सबै सांसदसँग बिहान ११ बजे छलफल गरिने जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको सचिवालयले जनाएको छ।
बैठकपछि सांसदहरू सिधै संसद् भवन नयाँ बानेश्वर जानेछन्। प्रतिनिधि सभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन्। जसका लागि दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ।
जसपाका शीर्ष नेताहरूको आइतबार बसेको बैठकले प्रधानमन्त्री ओलीको पक्ष वा विपक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप नलगाउने निर्णय गरेको थियो। जसपाभित्रको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले यसअघि नै विश्वासको मतको विपक्षमा मतदान गर्ने बताइसकेको छ।
महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष भने तटस्थ बस्ने भएको छ। यसअघि प्रधानमन्त्री ओलीको पक्षमा उभिएका महन्थ-राजेन्द्र 'निर्णायक' बन्न नसक्ने भएपछि तटस्थ बस्ने रणनीतिमा पुगेका हुन्।
बाबुराम–उपेन्द्र पक्षका १८ भन्दा धेरै सांसदले विपक्षमा मतदान गर्ने नेता राजेन्द्र श्रेष्ठले बताए। उनका अनुसार निर्णायक मत नभएकाले जसपाका ३/४ सांसद आजको बैठकमा अनुपस्थित हुन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।