काठमाडौं– पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको ‘अल्टिमेटम’ सकिएसँगै नेकपा एमालेको माधव नेपाल पक्षका सांसदहरु छलफलमा जुटेका छन्।
नेपाल पक्षका सांसदहरु विहान साढे ९ बजे संसद् सचिवालयमा छलफल गर्न लागेका हुन्।
आफूहरुको मागका बारेमा ओलीले समय सीमाभित्र कुनै निर्णय नगरेको भन्दै नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् त्यसअघि उनीहरु बैठक बस्न लागेका हुन्।
संसद सचिवालयको बैठक सकिएपछि सामूहिक राजीनामा दिने तयारी रहेको सांसद मेटमणि चौधरीले जानकारी दिए।
नेपाल पक्षले ओली पक्षलाई दिएको ९ बजेसम्मको समयसीमा सकिएको छ । आइतबार साँझ सिंहदरबारमा बसेको सो पक्षको बैठकले दुई विषय अघि सार्दै सोमबार बिहान ९ बजेसम्मको ‘अल्टिमेटम’ दिएको थियो। बैठकपछि बोल्दै योगेश भट्टराईले बैठकबाट दुई विषय तय गरेको बताएका थिए।
पहिलो, पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने। दोस्रो, आगामी दिनमा पार्टीलाई सहमतिका साथ अगाडि बढाउने कुरामा प्रतिबद्धता जनाउनुपर्ने। ‘उहाँले त्यो प्रतिबद्धता जनाउनुभयो भने प्रतिनिधि सभामा हाम्रो उपस्थिति हुन्छ। र हामी विश्वासको प्रस्तावको पक्षमा मतदान गर्छौं। त्यो स्थिति भएन र एउटा समूहलाई पेल्ने, धकेल्ने, कारबाही गर्ने, हतोत्साही गर्ने, डर धाक धम्की दिने, सत्ताको दुरुपयोग गर्ने जस्ता क्रियाकलापहरु निरन्तर भए भने हामीले भोलि वैशाख २७ गते हामीले जे निर्णय गर्नुपर्ने हो। त्यो निर्णय गर्छौं’, भट्टराईले भनेका थिए।
‘९ बजेसम्म अध्यक्षको प्रतिबद्धताको प्रतीक्षा गर्छौं। त्यसपछि हामीले गर्नुपर्ने कठोर निर्णय गर्छौं’, उनको भनाइ थियो। तर यसबीचमा कुनै थप प्रगति नभएपछि नेपाल पक्षले राजीनामाको तयारी गरेको हो।
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि लागि आज संसद बैठक बस्दै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।